प्रधानमन्त्रीमा देउवा मात्रै उम्मेदवार

काठमाडौ,जेठ, २१-

बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो ।

प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी भने परेन ।देउवाको उम्मेदवारको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ ।

मनोनयनको समर्थकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार खड्का र नेकपा संयुक्तका जयदेव जोशी हुनुहुन्छ ।

संसद सचिवालयले प्रकाशन गरेको कार्यतालिकाअनुसार आइतबार बिहान ११ बजे संसदमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढाउने उल्लेख छ । तर, विपक्षी दल एमालेको अवरोध कार्यक्रम घोषणाअनुसार यथावत रह्यो भने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा अवरोध आउन सक्ने सम्भावना छ ।

एकमात्र उम्मेदवार परे पनि संसदमा निर्वाचन भने मत विभाजनबाट नै हुनेछ । संसदको कार्यसञ्चालन नियमावलीको नियम ४९ अनुसार सम्बन्धित उम्मेदवारलाई संंसद्मा उम्मेदवारीको सूचना पेस गर्न समय दिइनेछ । उम्मेदवारले सूचना पेस गरेपछि प्रस्तावक समर्थकले उम्मेदवारीको समर्थनमा धारणा राख्नेछन् ।

एकभन्दा बढी मनोनयन भएको अवस्थामा रोलक्रमअनुसार उम्मेदवारीको संसदमा निर्णयार्थ पेस हुनेछ । एकमात्र उम्मेदवार रहेका कारण सोही सूचनालाई निणयार्थ पेस गरिनेछ । प्रस्तावले सदनको बहुमत हासिल गरेमा प्रस्तावित उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।