टाउको दुखाइ कसरी कम गर्ने

इन्द्र कार्की
महेन्द्रनगर,असार,२५-
टाउको दुख्ने समस्या प्राय सवैलाई वेला वेलामा देखा परिरहने समस्या हो । हामीले वेलैमा केहि कुराहरुमा ख्याल राख्यौ भने यस्तो समस्यावाट छुटकारा पाउनमा सहयोगी हुन सक्छ । टाउको दुख्ने विभिन्न कारणहरु हुन्छन् ।

केहि कारणहरुलाई सजिलै कम गर्न सकिन्छ भने केहि कारणहरु निराकरण गर्नका लागि विशेषज्ञहरुको आवश्यकता पर्छ । भनिन्छ टाउको दुख्नु आफैमा कुनै रोग होइन यो रोगको संकेत हो ।

आज हामी तपाईलाई त्यस्तै कारणहरुको वारेमा जानकारी गराउदैछौ जसलाई आफैले पनि व्यवस्थापन गर्न सकन्छि । टाउको दुख्ने समस्याको सहि उपचार भनेको यो समस्या पैदा गराउने अन्य कारणको सहि निदान एवमं उपचार हो ।

रक्सी, नसा या लागुपदार्थ अर्थात शरीरलाई हानी गर्ने पदार्थको सेवन नगर्नोस,रुघाखोकीवाट बच्ने,गर्धनको नशाको समस्या भए त्यसको उपचार गर्ने,पानी प्रशस्त पिउने,शरीरमा रगत तथा तागतको कमि हुन नदिने, आलस्यता हुन नदिने, आफुलाई कुनै नकुनै काममा व्यस्त राख्ने ।

औषधिको साइड इफेक्टको कारणले टाउको दुखिरहेको हो भने आफनो डाक्टरलाई भेटेर भन्नु राम्रो हुन्छ । तर धेरै जसो अवस्थामा टाउको दुखाईको समस्याको रोकथाम यति सजिलो भने हुदैन ।

किनभने करिव ९० प्रतिशत टाउको दुखाईको समस्या मानिसहरुमा माइग्रेन वा टेन्सन हेडेक वा दुवै खालको हुन्छ । यि दुवै अवस्थावाट वच्न भने केहि उपायहरु अवलम्वन गर्न सकिन्छ ।

दैनिक जीवनशैलीलाई नियमित गर्ने, पर्याप्त सुत्ने, तनाव कम गर्ने, चिया कफी अत्यधिक पिउने वानी छ भने कम गर्ने, नियमित व्यायाम गर्ने,आफु र परिवारको लागि समय निकाल्ने कुरा उपयोगी हुन सक्छन ।

हल्ला हुने ठाउँ, भीडभाड हुने ठाउँ साथै चीज, चोकलेट, अचार, अजिनामोटो, केरा, गहुँका परिकार जस्ता आफु वरिपरिको वातावरण र खानपिनले पनि यसमा सहयोग गरिरहेको हुन्छ ।

कतिपय समयमा मौसम परिवर्तनको समयमा, महिनावारीको समयमा तथा मानसिक रुपमा तनाव, चिन्ता, डर हुदाँ र वढि समय सम्म गर्मीमा काम गर्दा समेत टाउको दुख्ने गर्छ ।

यस्ता खास कुराहरुलाई पहिचान गरी सावधानी अपनाएमा फाइदा हुनसक्छ ।
तत्काल डाक्टरको सल्लाह लिनुपर्ने अवस्थाहरु
१. पहिलोपटक अचानक तेज टाउको दुख्नु
२. सहनै नसक्ने गरी टाउको दुख्नु
३. लामो समय सम्म टाउको दुख्नु
४. टाउको दुखाईको साथै वान्ता आउनु,मुर्छा पर्नु,बेहोस हुनु,गर्धन चलाउन मुस्किल हुनु, ज्वरो आउनु जस्ता लक्षण देखापर्नु ।
५. आँखाको देख्ने शक्तिमा गडवढी हुनु
६.शरीरको कुनै भागले काम नगर्नु या कमजोर हुनु
७. अचम्मका हरकत तथा असान्दर्भिक कुरा गर्न लागेमा