पूर्व स्वास्थ्यमन्त्री गगन थापाको पछिल्लो राजनीतीक तयारी

प्रत्यक्ष कार्यकारीको एजेण्डा मिलेपछि नयाँ शक्ति र माओवादी केन्द्रको एकता पनि अन्तिम चरणमा

काठमाडौं,साउन,११-

काँग्रेसका प्रभावशाली युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी थालेका छन् । माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीको एजेण्डा आत्मसात गर्दै स्थापित गराउन पहल थालेका बेला नेता थापा पार्टी प्रवेश गर्ने विषयमा सोच्न थालेको उनका निकटस्थहरु बताउँछन् ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको रुपमा राम्रो काम गरेका नेता थापाले आफूलाई पुनःमन्त्री न बनाईए पार्टी छाड्ने सम्मको निर्णय लिनसक्ने विकल्पबारे सोचिरहेका छन् ।

हाल कांग्रेस पार्टी नेतृत्वसँग चर्काे असन्तुष्टि राख्दै आएका नेता थापा पनि प्रत्यक्ष कार्यकारीको पक्षधर हुन । यद्यपी उनले पार्टी छाड्ने गरी छलफल बहस गर्नुको कारण अर्कै छ ।

माओवादी केन्द्रले उर्जामा राम्रो काम गरेका जनार्दन शर्मालाई प्रोत्साहन गर्दै गृहमन्त्री बनाउँदा स्वास्थ्य मन्त्रीको रुपमा राम्रो काम गर्दा पनि कांग्रेसमा भने आफ्नो मुख्यांकन नभएपछि थापा असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समय पार्टी नेतृत्वसंग असन्तुष्ट रहेका नेता थापा माओवादीमा जान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विभिन्न नेताहरुसँग अनौपचारिक वार्ता पनि शुरु गरिसकेको बताइन्छ ।

मन्त्री हुनु पहिला प्रचण्डका कडा आलोचक नेता थापा अघिल्लो मन्त्रिपरिषदमा सँगै काम गर्दा बुझ्न पाएपछि उनी अहिले प्रचण्डका समर्थक भएका छन् ।

यता :- प्रत्यक्ष कार्यकारीको एजेण्डा मिलेपछि नयाँ शक्ति र माओवादी केन्द्रको एकता पनि अन्तिम चरणमा पुगेको छ । गगन थापा पनि शुरु देखि नै प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको पक्षमा छन् । जुन कि अहिले माओवादी केन्द्रले उठाएको छ ।

स्थानीय तहको निर्वाचनमा जनताको भावना विपरीत नेतृत्व माओवादीको पछि लागेर गठबन्धन बनाएका कारण पनि गगनले कांग्रेस भन्दा राम्रो माओवादी नै हुने आकंलन गरिरहेका छन् ।

यस विषयमा काँग्रेसका एक नेतासंग हामीले कुरा गर्दा गगन पार्टी नेतृत्वबाट असन्तुष्ठ रहेको बताए । पार्टीलाई नेतृत्वले अनिर्णयको बन्दी बनाएकोले पनि थापाको असन्तुष्टि रहेको ती नेताले बताए । यद्यपी पार्टी छाड्नेबारे अहिले नै निर्णय लिन नसक्ने उनको दाबी छ ।स्रोत:नेपालपानाबाट