आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाण्डाैं,साउन, १२-

प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको पनि स्पष्ट पार्नु भयो ।

वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा अाज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीर अस्पतालको क्षमता वृद्धिका लागि आवश्यक सबै खालको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पनि वीर अस्पताललाई सचेत गराउनु भयो ।

विक्रम संवत १९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो सरकारी अस्पताल हो । प्रधानमन्त्री देउवाले अस्पतालले गुणस्तरीय जनशक्ति निर्माणमा समेत अतुलनीय योगदान दिँदै आएको पनि बताउनु भयो ।