दाङका तीन वटै अस्पताल निमित्तको भरमा चल्दै

नरेश खड्का/ 
दाङ, साउन, २७-

दाङ जिल्लामा सञ्चालनमा रहेका तीन वटै अस्पताल निमित्तको भरमा रहेका छन् । मध्यपश्चिममाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालमा डाक्टर देवकला भण्डारी आयुर्वेद विभागमा सरुवा भएपछि ६ वर्ष अघिबाट नै निमित्तकै भरमा सञ्चालन भएको थियो । जिल्लामा रहेका तीन वटै अस्पतालमा ११ औ तहका मेडिकल सुपरिटेण्डेन हुने भएतापनि हाल ९ औ तहकै निमित्तकै भरमा रहेका छन् ।

आयुर्वेद अस्पतालमा रहेका दशौ तहका निर्देशक डाक्टर ठाकुरप्रसाद दुवाडीलाई साउन ६ गतेको स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आयुर्वेद विभागमा काज सरुवा गरेपछि आठौ तहका डाक्टर गोकर्ण दाहालले अस्पतालको सामान्य प्रशासनीक सेवा सञ्चालन गर्दै आएका छन् ।

अस्पतालमा विशेषज्ञ सहित ७ सात जना डाक्टरको दरबन्दी रहेतापनि हाल एक जनामात्र डक्टर रहेका छन् । अस्पतालमा एक जना निर्देशक, ४ जना विशेषज्ञ र २ जना अन्य डक्टरहरुको दरबन्दी रहेको छ । एक जना बालरोग विशेषज्ञ, एक जना काय चिकित्सा र २ जना स्त्रीरोग विशेषज्ञ डक्टरको दरबन्दी रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन गोकर्ण दाहालले बताउनुभयो ।

३० शैयाको अस्पतालमा लेखा अधिकृतको दरबन्दी रहेतापनि खाली रहेको छ । त्यसैगरी ९ जना कार्यालय सहयोगीको दरबन्दी रहेतापनि हाल ३ जना मात्र रहेका छन् । अस्पतालमा ३ जना कविराज, ५ जना अनमि, ४ जना वैद्य, २ जना स्टाफ नर्स र २ जना ल्याबमा रहेका छन् ।

निमित्त मेडिकल सुरपरिटेण्डेन डाक्टर गोकर्ण दाहाललाई आर्थिक अधिकार नदिइएकाले अस्पतालको दैनिक प्रशासनिक कार्यमा कठिनाई उत्पन्न भएको बताइएको छ । उता राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा १० औ तहका विकास देवकोटालाई मेडिकल सुपरिटेण्डेनमा नियुक्त भएका थिए । देवकोटा समेत मन्त्रालयमा सरुवा भएर गएपछि १० औ तहका जर्नादन पन्थीलाई निमित्त मेडिकल सुपरिटेण्डेन जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्य अघि बढिरहेको सन्र्दभमा ११ औ तहका डाक्टर ल्याउन हालका निमित्त मेडिकल सुरपरिटेण्डेन जर्नादन पन्थी सबैभन्दा बढि क्रियाशील देखिएको अस्पताल विकास समितिका सदस्य दीपक पाण्डेले बताउनुभयो ।अस्पताल विकास समितिका आएपछि तत्कालीन स्वास्थ्य मन्त्रीलाइ दरबन्दी अनुसार ११ औ तहका डाक्टर माग गरिएको समेत सदस्य पाण्डेले बताउनुभयो ।