बाजुराका दुई हजार बालबालिकामा कुपोषण

बाजुरा,भदौ,२

बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ। जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताउनुभयो ।

उहाँले जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले आइमाम कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कुपोषण भएका बालबालिकाका आमालाई पोषिलो खानेकुरा खुवाउनेलगायतका आवश्यक सुझाव सल्लाह दिने गरिएको कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार जिल्लाका छवटा स्वास्थ्य संस्थामा कुपोषित बालबालिकाको उपचार केन्द्र ९ओसिटी सेन्टर० सञ्चालन गर्दैआएको बताइएको छ। उपचार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, टाँटे स्वास्थ्य चौकी, डोगडी, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, रुगिन स्वास्थ्य चौकी र गोत्री स्वास्थ्य चौकीमा ओसिटी सेन्टर सञ्चालन हुँदै आएको आइमाम कार्यक्रम जिल्ला संयोजक डा. उदय प्रकाशले बताउनुभयो ।

कुपोषित भएकामध्ये शीघ्र कुपोषण भएका ६०० जना मध्यम खालका एक हजार ४०० जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ। एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको जाँच गर्दा उक्त बालबालिका कुपोषित पाइएको हो।

कुपोषित बालबालिकालाई उपचारार्थ खाना खुवाउने, नियमित जाँच गर्ने र कुपोषित भएका बालबालिकालाई पोषित गरेर घर फर्काउने गरेको जनस्वास्थ्य अधिकृत कुँवरको भनाइ छ।

जिल्लामा बहुक्षेत्रीय पोषण योजना, आइमाम कार्यक्रम, सुआहारा दोस्रोले पोषणका लागि काम गर्दै आएका छन्। कार्यक्रम सञ्चालन भएपछि कुपोषणको अवस्था घट्दै गएको बहुक्षेत्रयीय पोषण योजनाका कार्यक्रम संयोजक गणेशप्रसाद जोशीले बताउनुभयो । रासस