पुर्नवासमा वयस्क हात्तीको मृत्यु

इन्द्र कार्की/
महेन्द्रनगर, भाद्र ,१०-

पुर्नवास नगरपालिका क्षेत्रमा एक जंगली वयस्क भाले हात्ती मरेको पाइएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १० नौरङ्गा स्थित नमुना सामुदायिक वनमा विधुतिय पासोमा परेर शुक्रवार एक जंगली भाले हात्ती मरेको हो । घटनास्थलमा हात्ती मार्नकै लागि विधुतिय पासो थापेको पाइएको वताइन्छ ।

पासो थाप्न विधुतिय तार विछ्याउन स्थान सफा गरेर सानो खम्बा गाडेको देखिएको वन कार्यालय कञ्चनपुरले जनाएको छ । करेन्ट लागेर मरेको हात्ती भारतको दुदुवा नेशनल पार्क वाट आएको हुन सक्ने अनुमान वन कार्यालयको छ । विधुतिय पासोमा परेको हात्तीको पिठ्युको भागको दायाँपट्टि विधुतिय तारले गहिरो पारेर जलेको छ ।

सिकारीहरुले  हात्तीको पुच्छर मात्र लगेर गएका छन् । विगत दुई वर्ष यता पुर्नवासमा चार वटा हात्तीहरुको मुत्यु भएको वताइन्छ तर विधुतिय पासोमा परेर मरेको भने यो पहिलो घटना हो । दुदुवा नेशनल पार्क नमुना सामुदायिक वन संगै जोडिएको छ ।

दुदुवा नेशनल पार्क पनि वर्षायाममा डुवानको चपेटामा पर्ने गरेको र त्यस वाट जोगिन पार्कमा रहेका जंगली जनावरहरु वर्षायाम सुरु भएसंगै नमुना सामुदायिक वनको वाटो हुदै चुरे तर्फ जाने गरेको वन संरक्षणकर्मिहरु वताउछन् ।

पासोमा परेर मरेको हात्तीको सोहि स्थानमा दाहसंस्कार गरिएको छ । जिल्ला वन कार्यालयले विधुतिय पासोमा परेर हात्ती मरे पछि त्यसको अनुसन्धान थालेको जनाएको छ ।