प्रदेश नम्बर–२ मा काँग्रेसले सबै उम्मेदवारको टुंगो लगायो

काठमाडौं, भदौ,१५-

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।प्रदेश नम्बर–२ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सबै तहमा उम्मेदवारको टुंगो लगाइएपनि  आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानीबाहिर भएकाले शुक्रबार (भोलि)मात्रै सबै नाम सार्वजनिक गरिने भएको छ ।

निर्वाचनको तयारीका लागि पार्टीले ८ जिल्लाका सबै तहमा प्रचार समिति गठन गर्नुका साथै सबै जिल्लामा सन्चार केन्द्र स्थापना गरी प्रचार–प्रचारलाई तीव्रता दिएइको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

निर्वाचन आचारसंहिताका कारण पार्टीले प्रचारका लागि ठूला आमसभाभन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।यसअघि, स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर–३, ४ र ६ मा गत वैशाख ३१ गते भएको थियो भने दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर–१, ५ र ७ मा भएको थियो ।

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताका लागि स्वयंसेवकसहित ३१ हजार भन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ ।प्रदेश नम्बर–२ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कुल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ । रासस