नेपालकै सबैभन्दा मनोरम र स्वर्गको टुक्रा समान खप्तडमा

धित मर्ने गरी खप्तड वरिपरीको मनोरम दृश्यलाई नियाल्न पाईने

शिशिर सापकोटा/
खजुरा,बांके,कार्त्तीक,२९-
जन्मले गुल्मेली र कर्मले नेपालगंजीया म पहाडमा जन्मिएता पनि सानै उमेरमा तराईको तातो हावा र समथर भूभागसँग नाता जोडिएको हुँदा पहाडको भौगोलिक विकटता, प्राकृतिक सुन्दरता र चिसो हावाको स्पर्श मानसपटलमा लगभग शुन्य नै थियो । बिदाको समय प्राय साहित्यिक रचना अथवा नँया ठाउँको घुमघाम मै खर्चिने गर्छु म ।

खप्तड

यस पटकको दशैँ–तिहारको एक महिने छुट्टीलाई मेरो पाँच दिनको खप्तड यात्राले अविश्मरणिय बनायो । मध्यपश्चिम नेपालमै आफ्नो पच्चीस बसन्त पार गर्दा पनि नजिकैको सुदुर पश्चिमलाई नजिकै बाट नियाल्ने अवसर मिलेको थिएन । खप्तड क्षेत्रको बारेमा सानै देखि पत्र पत्रिकामा पढेको, टि.भी.मा देखेको र धेरै पटक सुनेको हुँदा यस पटक त्यो खुल्दुली मेट्न म र मेरो साथी अजय निस्कियौँ आफ्नो सर समान समेटेर झोला भिरी सुदुर पश्चिम !

असोज २५, यात्राको पहिलो दिन दिउँसो करिब २ बजे, नेपालगन्जसँग केही समयको विदा मागी हामी धनगडी जाने गाडी चढी अत्तरीयासम्मको यात्रा तय ग¥यौँ । मन भित्रको कौतुहलता र प्रश्नहरुको उत्तरको खोजिमा निस्किएको म, झिसमिसे साँझ करिब ७ बजे अत्तरिया पुग्दा पनि अझै बढ्दै थिए मन भित्रका खुसीहरु ।

खप्तड यात्रामा शिशर सापकोटा 

डोटी सिलगढीको अन्तिम बस बल्ल तल्ल भेटियो, हतार हतार चढियो अनि लागियो गन्तव्यतर्फ । बिहानै चारै बजे बसेले हामीलाई डोटी सिलगडीको जिरो पोइन्टमा झा¥यो । त्यहाँबाट करिब २ कि.मि. पैदल हिँडी डोटी जिल्लाकै प्रसिद्ध मन्दिर शैलेश्वरी पुगियो । बिहानी मै शैलेश्वरी माताको दर्शन गरी हामीले खप्तड यात्राको श्री गणेश ग¥यौं । बाटोमा आवश्यक पर्ने सम्पूर्ण सर समाग्री झोलामा राखी, डोटी सिलगढीदेखि खप्तड पैदल यात्रा शुरु भयो ।

बिहानीको सुर्योदयसँगै हाम्रा पाइलाहरु विस्तारै उकालो लाग्न थाले । तराईमै हुर्के बढेको हुँदा पहाडको बाटोमा पैदल हिँड्न सजिलो थिएन । करिब २ दिनको पैदल हिँडाइमा पुगिने खप्तडले हामीलाई बोलाइ रहेको थियो । उच्च मनोबलका साथ हाम्रो पैदल यात्रा शुरु भयो । अजङ्गका थुप्रै हरिया पहाडहरु हाम्रा अगाडी तेर्सिएका थिए । ति सबै पहाडहरु हामीलाई चढ्नु थियो अनि अगाडि बढ्नु थियो ।

हाम्रो पहिलो गन्तव्य डोटी जिल्लाकै झिंग्राना गाउँ थियो । थुप्रै गोरेटोहरु, उकाली–ओराली, भीर पाखा छिचोल्दै करिब ९ घण्टाको हिँडाई पश्चात हामी साँझ ४ बजे भिंmग्राना पुगियो । १०–१२ घर भएको सानो गाउँ रहेछ झिंग्राना, हाम्रो अपेक्षा भन्दा निकै फरक । त्यहाँबाट नै खप्तड राष्ट्रिय निकुन्ज शुरु हुने हुँदा आर्मी व्यारेक पनि नजिकै अवस्थित थियो । दिनभरीको हिँडाइको थकानले शरीर गलिसकेको हुँदा हामी त्यही एउटा होटलमा बास बसियो ।

सामान्य खाने–बस्ने सुविधा भएको उक्त ठाउँमा बिजुली, बत्ती, टेलिफोनको समस्या रहेनछ । जसो तसो चिसो रात काटियो, भोलीको प्रतिक्षामा, खप्तडको कल्पनामा । यात्राको तेस्रो दिन बिहानै ५ बजे आँखा खुले । पहाडै पहाडको बिचमा रहेको झिंग्राना गाउँबाट सुर्योदयको दृश्य निकै मनमोहक थियो । माथी अजङ्गको पहाड ठडिएका थिए जसलाई चढेर मात्र खप्तड पुग्न सकिन्थ्यो ।

खप्तड

बिहानीको चिया–नास्ता पछी फेरी एक रातको विश्राम लिएको हाम्रो यात्रा पुनः शुरु भयो । झिंग्राना आर्मी व्यारेकसँगै खप्तड राष्ट्रिय निकुञ्जको बोर्ड राखिएको थियो । मन आनन्दित थियो तर अबको यात्रा झन् कठिन । खच्चड हिँडने र मान्छेको पदमार्ग छुट्टाइएको रहेछ, साइन बोर्ड पनि ठाउँ–ठाउँमा राखिएको थियो पर्यटकको सुविधाको लागि । ठाडो उकालो त्यसमा पनि ढुङ्गे बाटो, यात्रा झन् कठिन र गाह्रो हुँदै थियो ।

त्यसका बाबजुत ठाउँ–ठाउँमा बिसाउँदै, खाजा पानी पिउँदै र फेरी हिँड्दै गर्दा घाम टाउको माथी आइसकेको थियो । दिउँसो १२ बजे करिब ६ घण्टाको कठिन हिँडाई पश्चात हामी ‘बिचपानी’ पुगियो, जहाँ पर्यटकहरुलाई पर्यटक विश्राम घर र खाना खानको लागि साधारण होटलको व्यवस्था थियो । पारिलो घाममा केही बेर ‘बिचपानीमा’ सुस्ताई सकेपछी दिउँसोको खाना खाईयो । धेरै अबेर नगरी यात्रा फेरि शुरु भयो खप्तडको । करिब आधा बाटो अभैmँ बाँकी नै थियो ।

अब अलिकति सहज र ओरालो बाटो भएको हुँदा पाइलाहरु छिटो छिटो लम्काउँदै हामी बढ्दै थियौँ । थुप्रै पहाड, छहरा, जंगल, भीर–पाखा हुँदै हामी निरन्तर हिड्ने क्रममा साँझ पर्न थाल्यो र अन्ततः पुगियो धर्तीको स्वर्गको टुक्रा खप्तड । राति परिसकेको हुँदा राम्रोसँग दृश्यावलोकन गर्न गाह्रो थियो तर पनि शरीरनै कमाउने चिसो हावा र त्यहाँको मनोरम मौसमले मन चञ्चल बनाइरहेको थियो ।

खप्तडको यात्रा गर्दै शिशिर सापकोटा

दुई दिनको अथक हिँडाई पछि पुगिएको हुँदा शरीर गलेर कम्जोर भइसकेको थियो । त्यहाँको पर्यटक विश्राम घरमा सुत्ने व्यवस्था गरी रात्रीको भोजन गरियो । थकाइले गलेको शरीर छिट्टै नै मस्त निद्रामा हराइसकेको थियो हाम्रो भोलीको मनोरम विहानी प्रतिक्षामा । बिहानै आँखा खुल्नासाथ हामी नित्यकर्म गरी बाहिर निस्कदा चिसोले शरीर कठ्याङ्ग्रीएको भएतापनि बाहिर सेतो हिउँले ढाकिएका पाटनहरु देख्दा मन चङ्गा भइरहेको थियो ।

बिहानीको तातो चियासँगै, सुर्योदयको दृश्य खप्तडमा नियाल्नु मजा अकल्पनीय थियो । नजिकैको आर्मी व्यारेक, राष्ट्रिय निकुञ्जको कार्यालय र पर्यटक विश्राम गृह र सानो छाप्रो, खाना खाने होटल बाहेक वरिपरी अरु भौतिक संरचना थिएन । बाटो, बिजुली, टेलिफोन र अन्य भौतिक सुविधाबाट बन्चित भएतापनि खप्तड नयाँ दुलही जस्तै गरी प्राकृतिक छटाले सिँगारीएर चिटिक्क परेको थियो ।

धित मर्ने गरी हामीले त्यहाँको वरिपरीको मनोरम दृश्यलाई नियाल्यौं । त्यसपछि लाग्यौँ खप्तड बाबाको आश्रम जुन त्यहाँबाट आधा घण्टाको दूरीमा थियो । खप्तड बाबाले ५० वर्षसम्म ध्यान गरी बसेको ठाउँ, मोक्ष प्राप्त गरेको ठाउँ आफैमा एउटा स्वर्गको टुक्रा भन्दा कम थिएन । त्यहाँ पुगेर दर्शन गरी नजिकै देखिने अपि र सैपाल हिमाल हेरी हामी लाग्यौँ त्रिवेणी धामतर्फ ।

प्रत्येक वर्षको बैशाखमा दशहरा मेला लागि हजारौँ धर्मावलम्बी र पर्यटकहरु पुग्ने पवित्र त्रिवेणी पुग्न हामीलाई त्यहाबाट जङ्गल छियोल्दै करिब एक घण्टा लाग्यो । त्यहाँ पुगी स्नान गर्दा मोक्ष प्राप्ती र शान्तिको अनुभव भयो अनि खप्तड दहले हामीलाई धेरैबेर टोलाइरहन बाध्य बनायो । त्यहाँबाट हरियो जंगल अनि मनमोहक पाटन हुँदै केदार धारा र केदार ढुंगा पुगियो ।

खप्तड

बाइस पाटनहरु वरिपरी भएको अनि सुदुरको पाँच जिल्लाहरु छोएको करिब २२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको पुरै खप्तड पैदल घुम्न सम्भव नभएको हुँदा मुख्य–मुख्य स्थानहरु मात्र घुम्न भ्याइयो । दिउँसोको १२ बज्दा हामी थकान र घुमाईले गलिसकेका थियौँ । फेरी होटल पुगि दिउँसोको भोजन गरियो । चिसो ठाउँको तातो भोजनले हामीलाई नयाँ जोस जाँगर दियो । केहीबेर विश्राम गरी हामी खप्तडलाई विदाइ ग¥यौँ ।

त्यहाँबाट बझाङ्ग नजिकै पर्ने हुँदा हाम्रो फिर्ती यात्रा फेरी शूरु भयो । करिब ६ घण्टाको ओरालो बाटो हिँड्दै बझाङ्गको छान्ना पुग्दा साँझ परिसकेको थियो । गाडी नपाइएको हुँदा एक रात त्यहीँ बास बसि भोली बिहानै डडेल्धुराको गाडीमा चढियो । बझाङ्ग, बैतडी, डडेलधुरा, कैलाली, बर्दियाको कठिन करिब दुई दिनको बस यात्रा पश्चात ज्यान शकुसल नेपालगन्ज आइपुग्यो तर हामीले हाम्रो सम्पूर्ण ध्यान, मन र मीठो यात्राका सम्झनाहरु धेरै पर छोडिसकेका थियौं।
नेपालकै सबैभन्दा मनोरम र स्वर्गको टुक्रा समान खप्तडमा ।

शिशिर सापकोटा
खजुरा, नापालगंज,बांके