नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,३-
नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा परेका छन् । नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले प्रभावकारी रुपमा सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका हुन । बिगत केहि महिना देखि नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, स्काइ तथा नमस्ते मोबाइल नेटवर्कमा समस्या आएपछि सेवाग्राही प्रभावित बनेका हुन् ।

विभिन्न ठाउँमा फोन गर्दा नेटवर्कको समस्या देखाउने, स्पष्ट नसुनिनेजस्ता समस्या टेलिफोन र मोबाइलमा देखिएको छ । यस्तै एडिएसएल, थ्रीजी वाइम्याक्स जस्ता इन्टरनेट सेवामा पनि समस्या देखिएको छ । नेपालटेलिकमको सेवामा लामो समयसम्म सुधार नआएपछि सेवाग्रहीले गुनासो गरेका छन् ।

लामो समयसम्म सेवामा सुधार नआए पनि नेपाल टेलिकमले खासै चासो भने दिएको छैन । यो विषयमा नेपाल टेलिकम ओखलढुंगाले प्राविधिक कार्यहरु नेपाल टेलिकम केन्द्रले गर्ने भएको हुँदा आफूहरुले पटक पटक केन्द्रमा कुरा राख्दा समेत सुनुवाइ नभएको भन्दै पन्छीन खोजेको छ । नेपाल टेलीकम ओखलढुंगाको सेवाप्रती सेवाग्राहीले लामो समय देखि असन्तुष्ठि जनाउदै आएका छन् ।