जाडोले कठ्यांग्रिएर सप्तरीमा दुई जनाको मृत्यु

काठमाण्डौंको तापक्रम शून्य दशमलव ५ डिग्री

सप्तरी,पुस,२३- 

देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला तराईका जिल्लाहरुमा विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

यसैबिच : काठमाण्डौंको आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसअघि शुक्रबार एक दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको हिजोको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।

पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौसमविद् शान्ती कंडेलले बताउनुभयो ।

गएको वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् कंडेलका अनुसार अबको एक हप्ता पानी पर्ने वा हिमपात हुने संभावना छैन । पानी नपर्दा उपत्यकासहित औद्योगिक क्षेत्रमा प्रदुषण बढ्ने उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा जुम्लामा सबैभन्दा चिसो छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जीरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।