जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

 इन्द्र कार्की
/महेन्द्रनगर,पौष,२४
जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ।

गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो बेला खानपिनमा ध्यान पु¥याउनुपर्छ।

शरीरमा भिटामिन सी को कमी हुन नदिन कागती पानी, सुन्तला, मौसम आदि खाने गर्नुपर्छ। यो समयमा खाना नरुच्ने, खाए पनि सजिलै नपच्ने भएकाले सकेसम्म भिटामिन सी युक्त खानेकुरामै जोड दिनुपर्छ। चौथो महिना लागेपछि भने अलि सहज हुन्छ। खान मन लाग्ने हुन्छ।

जाडो महिना भन्दैमा चिया, कफी बढी खाने प्रचलन छ। त्यसले ग्यास्ट्रिक बढाउन सक्छ। बरु प्रोटिन धेरै पाइने अन्डा, मासु आदि खान जोड दिनुपर्छ।

जाडोयाममा पानी थोरै खाने गरिन्छ। तर, पानी थोरै खाँदा पिसाबमा संक्रमण हुन सक्छ र समय अगावै बच्चा जन्मन सक्छ। त्यसैले पर्याप्त पानी पिउने गर्नुपर्छ।

गर्भवतीले काठमाडौं जस्ता बढी भिडभाडयुक्त शहरमा प्रदुषणबाट जोगिन पनि उत्तिकै आवश्यक हुन्छ। घरबाट बाहिर निस्किँदा धूलो–धूवाँबाट बच्न मास्क लगाउने गर्नुपर्छ।

गर्भवती अवस्थामा इम्युनिटी पावर कम भएर छिटै चिसो लाग्ने भएकाले बढी ध्यान दिनुपर्छ। सजिलै रुघाखोकी लागिहाल्ने भएकाले शरीर न्यानो पार्नुपर्छ। न्यानो लुगा लगाउने, हात–खुट्टामा पनि पञ्जा र मोजा लगाउने, तातो खानेकुरा बढी खाने गर्नुपर्छ।

यो समयमा बिसन्चो भएमा औषधि खान उचित मानिँदैन। हामी डाक्टरले एन्टीबायोटिक पनि दिन सक्दैनौं। त्यसैले गर्भवतीले आफू नै सचेत भएर शरीरको हेरविचार गर्नुपर्छ।

गर्भ रहेको २६ हप्तादेखि बच्चा जन्मिने समयसम्म तेस्रो चरण हो। यो समयमा महिलाहरु अब कुनै पनि बेला मेरो बच्चा जन्मिन सक्छ भनेर मानसिक रुपमा तयार हुन्छन्। यो समयमा रुचेसम्म पर्याप्त खानुपर्छ। बाहिरका खानेकुरा सकभर खानु हुँदैन।

जाडो महिना छ, चिसो लाग्छ भनेर ननुहाई बस्नु हुँदैन। सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नुहाएपछि टम्म लुगा लगाएर न्यानो भएर बस्नुपर्छ।

न्यानो भएर बस्दा पनि रुघाखोकी लागिहाल्यो भने औषधि खान नमिल्ने भएकाले घरमै तातोपानीको बाफ लिनुपर्छ। भिक्स पनि लगाउन सकिन्छ। इम्युनिटी पावर भएर निमोनिया र अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्यमा समस्या आएमा घरमा बसिराख्नु हुँदैन। धेरै चिसो लागेर गाह्रो भयो र छातीमा समस्या देखिन थाल्यो भने डाक्टरको सल्लाह लिनुपर्छ।

यो अवस्थामा गर्भमा बच्चा बढ्दै जाँदा पनि हात–खुट्टा सुन्निन सक्छ। यदि ब्लडप्रेसर बढेको छ र हात–खुट्टा सुन्निभएको छ भने खतरा हुन सक्छ। यस्तो अवस्थामा स्वास्थ्य संस्थामा गएर जँचाइहाल्नुपर्छ। रक्तचाप बढ्नुका साथै मधुमेह पनि हुन सक्ने भएकाले समयसमयमा चेकअप गराउनुपर्छ।

गर्भावस्थामा धेरै बेरसम्म खुट्टा झुन्ड्याएर बस्नु हुँदैन। बस्दा पनि केही सपोर्ट लिएर बस्नुपर्छ। उभिँदा शरीरको पूरै भार खुट्टामा पर्ने भएकाले लामो समय उभिनु पनि हुँदैन।

गर्भावस्थामा चेकअप गर्दा सबै सामान्य छ भने घरको थोरतिनो काम गर्न सकिन्छ। यसले शरीर सक्रिय रहेर फाइदा नै हुन्छ। बिहान–बेलुका सामान्य हिँडडुल गर्न सकिन्छ। सामान्य योग पनि गर्न सकिन्छ।

स्वास्थ्य खवर पत्रिकाको सहयोगमा