आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/
महेन्द्रनगर,पौष,२७-

आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो ।

मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले गराएको छ । मेलाको आज औपचारिक रुपमा सुदुरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख क्षेत्रीय प्रशासकले उद्घाटन गर्ने कार्यक्रमतय गरिएको छ । मेलाको प्रचार प्रसार एवं आर्थिक समितिका संयोजक रामचन्द्र रेग्मीले मेलाको सवै तयारी पुरा भईसकेको जानकारी दिनु भयो । सुदुर पश्चिमेलीहरुको खाद्य परिकार,स्थानिय साँस्कृतिक कार्यक्रम,यस क्षेत्रका विभिन्न समुदायको लोक संस्कृति प्रदर्शन तथा नृत्य प्रस्तुती मेलामा रहने छन् ।

निशुल्क प्रवेश तथा अवलोकनको व्यवस्था मिलाईएको मेलामा जम्मा ५० स्टल रहेका छन् । अधिकांस स्टलहरु वुक भईुसकेका छन् । खाना खाने वानीको विकास गर्न समेत मेलामा जानकारी गराइने छ । मेलाले स्थानिय परम्परागत खाद्य परिकारको महत्व बढने अपेक्षा गरिएको छ । खाद्य मेला विहान ८ वजे देखि साँझ ८ वजे सम्म सञ्चालन हुनेछ ।

“पहिलो पटक आयोजना हुन लागेको मेला यस क्षेत्रका व्यवसायी र उपभोक्तालाई लाभदायक हुने” होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले वताए । माघ १ गते सम्म (५ दिन) सञ्चालन हुने मेला सञ्चालनका लागि १० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लामा नै पहिलो पटक आयोजना गरिएको मेला अवलोकनका लागि आयोजकले सवैलाई अनुरोध गरेको छ ।