महेन्द्रनगरको खुला मञ्चमा विराट सत्संग समारोह हुने

इन्द्र कार्की/

महेन्द्रनगर,माघ,४-

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महेन्द्रनगरको खुला मंचमा विराट सत्संग समारोह २०७४ हुने भएको छ । भोली शुक्रवार (माघ ५) देखि सञ्चालन हुने सत्संगको सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ ।

महेन्द्रनगरमा पहिलो पटक हुन लागेको सत्संगले आध्यात्मिकका माध्यमवाट मानिसलाई ज्ञान दिने उदेश्य रहेको छ । सत्संगको उद्घाटन सिँचाइमन्त्रि संजय गौतमले गर्ने कार्यक्रम रहेको सत्संग मुल समारोह समितिका केन्द्रिय सदस्य सागर कटुवालले वताए ।

कटुवालका अनुसार सत्संगको लागि मञ्च, आवास, भोजन, स्वयमसेवक परिचालन, स्टल, सरसफाई लगायतको व्यवस्थापन ६२ उप समिति मार्फत भईरहेको छ ।

सत्संगमा परम पुज्य श्री सतपाल जी महाराज बाट दिव्य उद्बोधन एवं विद्धान सन्त महात्माहरुका सत्संग धारा तथा भक्ति भजनका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने जानकारी आयोजकले गराएको छ ।

नेपाल मानव धर्म सेवा समितिका सल्लाहकार जय प्रसाद अग्रवालले आध्यात्मिक माध्यमवाट युवाहरुलाई सहिबाटोमा पुर्याउनका लागि कार्यक्रम आयोजना गरिएको वताए ।
   सत्संगको पुर्व सन्ध्या पारी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर र महाकाली अञ्चल अस्पतालको समन्वयमा वुधवार रक्तदान कार्यक्रम गरिएको छ । रक्तदानमा ७ जना महिला र २५ जना पुरुष गरि जम्मा ३२ जनाले रक्तदान गरेको स्वास्थ्य सेवा व्यवस्थापन विभागकी सहसंयोजक सुशिला कुवँरले जानकारी दिइन् ।

कार्यक्रमको लागि आयोजना स्थलको चारै तिर सजाइएको छ भने सरसफाईको जिम्मा हेल्प नेपालले लिएको छ । सत्संगमा नेपाल तथा भारतका करिव ४० देखि ५० हजार भक्तजनको उपस्थिति रहने आयोजकले जनाएको छ ।

समारोह उद्घाटनको दिन माघ ५ गते विहान महेन्द्रनगर बजारमा सांस्कृतिक कार्यक्रम सहित शोभायात्रा हुने जानकारी आयोजकले दिएको छ । माघ ५ र ६ गते अपरान्ह २ वजे देखि ६ वजे सम्म सञ्चालन हुने कार्यक्रममा सक्रिय सहभागिताको लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।