हर्षोलासपुर्वक मनाइदै होली

इन्द्र कार्की/

महेन्द्रनगर,फाल्गुन,१७-

रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ ।

रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव फागु अर्थात होली पर्व पनि थपिएको छ । रंगहरुको पर्व मानिने होली विभिन्न समुदायमा धुमधाम संग मनाइदै छ । फागु पुर्णिमाको अवसरमा खेलिने होली पर्व विगतका वर्षहरुमा झै यस वर्ष पनि गाउँ सहर सवै तिर हर्षोलासपुर्वक खेलिदैछ ।

विभिन्न किसिमका रंगहरु दलेर एकअर्कामा रमाइलो मनाउने यहि उत्सवलाई फागु अर्थात होली भनिन्छ । होली भनेकै रंगको पर्व हो । रितु परिर्वतन संगै आउने होलीको रंग पनि विभिन्न प्रकार का छन् । युवाहरुमा होलीको वेग्लै उमंग रहेको हुन्छ ।

फागुन महिनामा पर्ने भएकोले पनि यस चाडलाई फागु भनिएको हो । पौराणिक किवंदन्ति अनुसार यो पर्व होलीका नामकी राक्षस मरेको खुशीमा मनाइने पर्व भएकोले होली भनिएको हो । यसरी होलीका मारिएको उपलक्ष्यमा सवैले खुशीयाली मनाउन होली खेल्ने चलन सुरु भएको कुरा भविष्य पुराणमा उल्लेख छ । यो पर्व नेपाल र भारत लगायत विश्वभरि नै रमाइलो गरि मनाउने गरिन्छ ।

नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फागु शुक्ल पुर्णिमा को दिन मनाइने यो पर्व यो वर्ष आज को दिन परे तापनि २ /३ दिन सम्म मनाइने गरिन्छ ।

फागु पर्वले नयाँ जोश,जागँर र नविन ऊर्जालाई सामाजिक एकता,सदभाव्, मैत्री र भाईचारा जगाउने गर्दछ । चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक विहानी वोकेर आउने फागु उत्सवको उत्कर्ष फागु पुर्णिमा नै हो । हाम्रो यहाँ फागु पुर्णिमा विभिन्न नामले चिनिन्छ ।

होली,फगुवा,होरी,फागु आदि नामले मनाइने यो पर्वले प्रेम,सदभाव प्रकट गरि रंग,अविर दलेर रंगीन पानी छ्यापेर शुभकामना आदानप्रदान गरेर नाचगान गर्दै मनाइन्छ ।

आजभोली सामाजिक सञ्जालहरुमा पनि होलीका शुभकामनाहरु आदानप्रदान भईरहेका छन् भने होली तथा रंगका तस्वीरहरुले समाजिक सञ्जालका भित्ताहरु रंगीएका छन् । यसैले फागु पर्वलाई खुशीयालीको एउटा रंगीन विश्वव्यापी पर्व मान्न सकिन्छ ।

हाम्रो देशको पहाडी भेगमा पुर्णिमाको दिनमा र तराईमा पुर्णिमा भोलिपल्ट होली मनाउने चलन रहेको छ । तर पहाडी समुदायको बाहुल्य रहेको तराई क्षेत्रमा दुवै दिन होली मनाइन्छ । आपसी मेलमिलाप सद्भावको पर्वमा हिजो आज विकृतिहरु देखा पर्न थालेका छन् ।

होलीको दिनमा खास गरि महिला युवती लक्षित विकृतिहरु बढि देखापर्छन । इच्छा विपरित महिला युवतीका संवेदनशील अंगलाई लक्षित गरि अबिर,रंगका लोला हान्ने, जिस्किने प्रवृति केहि वर्ष यता वढेको छ । कसैको चाहाना विपरित रंग दल्नु, लोला हान्नु होली को विशेषता होइन ।

यसले सामाजिक सद्भावलाई खल्बल्याउने काम गर्छ । मनका खराब भावहरुलाई हटाएर ,एक आपसमा सद्भाव तथा भाईचाराको अभिवृद्धि गर्नु, आफु भित्रको गलत प्रवृतिलाई त्यागेर सुमार्गतिर अभिप्रेरित हुनु, सामाजिक सद्भावमा वस्नु र विजय देखाउनु फागु पर्वको आशय हो ।

संस्कृति र सभ्यता समेतलाई नराम्रो बाटोमा धकेल्न थालेको फागु पर्व सम्वन्धि विसंगति विरुद्ध एकजुट हुनु पर्ने आवश्यकता आइसकेको छ । वर्षमा एकचोटी आउने रंगीन चाड सभ्य तरिकाले कसैको इच्छा विपरीत हुने कार्या नगरेर एक आपसमा मिलिजुली खेल्यौ भने मात्र सहि अर्थमा होलीको महत्व रहन्छ ।