राष्ट्रिय जनता पार्टी पुनः आन्दोलन गर्ने तयारीमा

काठमाण्डौ,चैत,१९-

राष्ट्रिय जनता पार्टी (राजपा) पुनः आन्दोलन मुडमा देखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा लिखित सहमति र मधेशवादी दलहरुसँग भइरहेको वार्ताको टुंगो लगाउन आनाकानी गरेपछि राजपाले सडक र सदनबाट आन्दोलनको मुडमा देखिएको हो।

संविधान संशोधनमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका विषयहरुलाई बेवास्ता गरेको भन्दै राजपा असन्तुष्ट छ। मधेशवादी दल र सरकारबीच लगातार भइरहेको वार्तामा प्रधानन्त्री ओलीले संविधान संशोधनका विषयमा पनि सार्वजनिक रुपमा लिखित हस्ताक्षर गर्न नमानेको आरोप मधेश केन्द्रित दलहरुले लगाएका छन्।

राजपाको अर्काे असन्तुष्टि हो, कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीको मुद्दा फिर्ता र उनको रिहाइमा कुनै कदम नचाल्नु। राजपाले प्रधानमन्त्री समक्ष चौधरीलाई हिरासतमै भएपनि संघीय संसदको सपथग्रहणको वातावरण मिलाउन आग्रह गर्दै आएको छ।

ओलीले राजपासँगको सुरुवाती वार्तामा राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारको पक्षमा मतदान गरेपछि चौधरीलाई संसदमा सपथग्रहणको वातावरण मिलाउने आश्वासन दिएका थिए। तर, निर्वाचन सकिए पछि कानुनी जटिलताका कारण त्यसो गर्न नसक्ने बताएपछि राजपा नेताहरु ओलीसँग असन्तुष्ट छन्।

आफ्ना मागमा ओलीले बेवास्ता गर्न थालेपछि नेताहरु आन्दोलनको मुडमा देखिएका छन्। राजपाका एक नेताले नेपालखबरसँग भने, हाम्रा माग र मुद्दामा यसरी नै बेवास्ता गरिए आन्दोलमा जान राजपा वाध्य हुनेछ।’ ती नेताले आगामी रणनीतिका विषयमा पार्टी बैठकमा छलफल गरिने जानकारी दिए।

राजपाले चैत्र २१ चैत्रमा अध्यक्ष मण्डलको बैठक बोलाएको छ भने लगत्तै २२ चैत्रमा संसदीय दलको। यसैगरी २७ गते राजनीतिक समिति सदस्यहरुको बैठक बोलाएको छ।

२१ गते बस्ने अध्यक्ष मण्डलको बैठकले समसामयिक राजनीतिक विषय लगायत सरकारसँग भएका वार्ताहरुका विश्लेषण गर्ने महासचिव केशव झाले बताए। झाले भने, ‘हुन त, २२ चैत्रको बैठक संसदीय दलको नेता चयनका लागि हो। तर, २७ गते हुने राजनीतिक समितिको बैठकले राजपाको भावी राजनीति गन्तव्यका विषयमा छलछल गर्नेछ।’

के बुझिन्छ भने, प्रधानमन्त्री ओलीको सत्तारोहणको सत्ता ग्रहण गरेको एक सय दिन पर्खनेछ। जब ओलीको सत्तारोहणको ‘हनिमुन पिरियड’ सकिनेछ, त्यसपछि आफ्ना माग पुरा गराउन दबाबका लागि आन्दोलन गर्ने मुडमा राजपाका नेताहरु देखिन्छन्।साभार नेपाल खबरबाट