नगरमा निशुल्क खानेपानीको व्यवस्था

नेपालगञ्ज, बैसाख,२५-

सुरक्षाकर्मीलाई लक्षित गर्दै नगरका विभिन्न स्थानमा आजदेखि खानेपानीको व्यवस्था गरिएको छ । यस वर्ष अहिले सम्मकै ४१ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जमा दिनप्रतिदिन गर्र्मी बढदै गएपछि पानीको माग बढदै गएको छ ।

डिउटीमा खटिने सुरक्षाकर्मी र सर्वसाधारण यात्रुलाई खानेपानीको समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख उमा थापामगरको विशेष पहलमा आज प्रहरी विटमा निशुल्क खानेपानीको व्यवस्था गरिएको हो ।

नगर उपप्रमुख थापामगरको व्यक्तिगत पहल तथा जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख राजन कुमार गौतम, तरुण दल बाँकेका सह—सचिव बिमल चन्द , पानी उद्योग संघ बाँकेका अध्यक्ष बिनय श्रेष्ठ लगायतको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका भित्र पर्ने सबै प्रहरी बिटहरुमा आजदेखि पिउने पानीको ब्यबस्था गरिएको हो ।

नगरभित्र रहेका १५ वटा प्रहरी विटमा पानीको व्यवस्था गरिएको छ । बढ्दो गर्मीमा ड्युटीमा खटिने प्रहरी र बाटो हिँड्ने बटुवाको प्यास मेटाउने उद्देश्यका साथ जारको पानीको व्यवस्था गरिएको वडा प्रहरी कार्यालयका प्रमुख गौतमले जानकारी दिनु भयो । आज नै सबै प्रहरी विटमा पानी पु¥याइसकिएको गौतमले बताउनु भयो ।

पानी व्यवस्थापनमा स्वयं खटीनु भएकी नगर उपप्रमुख थापामगरले सुरक्षार्थ खटीने सुरक्षाकर्मी र नगरबासीको आवश्यक्तालाई पुर्ती गर्नु मानवीय दायित्व भएको भन्दै हातेमालोको आवश्यक्ता औल्याउनु भयो । पानी उद्योग संघ बाँकेका अध्यक्ष श्रेष्ठले दैनिक रुपमा पानी उपलव्ध गराइने गरि समन्वय गरिएको बताउनु भयो ।