इन्धनको मूल्यवृद्धिले बजार महँगिने चिन्ता

डेढ महिनाको अवधिमामात्रै इन्धनको मूल्य चारपटक वृद्धी

काठमाडौं, जेठ,२१-

पछिल्लोपटक इन्धनको निरन्तर मूल्यवृद्धिले बजार भाउ बढ्ने चिन्ता बढाएको छ ।नेपाल आयल निगमले २०७१ असोजदेखि इन्धनमा स्वचालित मूल्य संरचना अपनाउँदै आएको छ ।

 

यो प्रणालीअनुसार निगमले यो वर्ष लागेपछि डेढ महिनाको अवधिमामात्रै इन्धनको मूल्य चारपटक समायोजन गरिसकेको छ । तर, चारैपटक पेट्रोल, डिजेल, मट्टितेलको भाउ बढेको छ ।

गत वर्ष चैत अन्तिममा १०५ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य वैशाख ३ गते, १९ गते, जेठ २ र १९ गते पुनः बढाएर ११३ रुपैयाँ पुर्‍याइएको छ ।

डेढ महिनामै पेट्रोल लिटरमा ८ रुपैयाँ महँगिएको छ । डिजेल र मट्टितेल पनि आठै रुपैयाँले महँगो भएका छन् ।डिजेल र मट्टितेलको भाउ वैशाख ३ गते प्रतिलिटर ८७ रुपैयाँ रहेकामा जेठ १९ देखि ९५ रुपैयाँ पुगेको छ ।

पछिल्लोपटक आन्तरिक उडानका लागि हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँले बढाएर प्रतिलिटर १०० रुपैयाँ र बाह्य उडानका लागि प्रतिहजार लिटर १०७५ अमेरिकी डलर पुर्‍याइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउ बढेको र इन्डियन आयल कोर्पोरेसनले अर्धमासिकमा पठाउने मूल्यसूचीमा पनि उल्लेख्य वृद्धि भएकाले मूल्य बढाउनु निगम बाध्यता भएको निगमको भनाइ छ ।

अझैपनि पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा रहेको र १५ दिनमा १८ करोड ६२ लाख रुपैयाँ घाटा रहने आपूर्ति वितरण तथा एभिएसन विभागका प्रबन्धक रामप्रसाद पाठक बताउँछन् ।

योसँगै हवाई उडान सन्चालकहरुले हवाई भाडा बढाइसकेका छन् ।इन्धनको मूल्यवृद्धिले सर्वत्र प्रभाव पार्छ । उसै त बजेटमार्फत् विभिन्न उपभोग्य वस्तुमा कर बढाइएको छ । त्यसमाथि इन्धनमा गरिएको मूल्यवृद्धिले बजार थप महँगिने सर्वसाधारणको चिन्ता छ ।

स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्ने व्यवस्था भएपनि डिजेलजस्तो ‘मास ट्रान्सपोर्टेसन’मा प्रयोग हुने वस्तु र सर्वसाधारणले दैनिक प्रयोगमा ल्याउने मट्टितेलको मूल्यवृद्धि गर्दा भने विचार गर्नुपर्ने सर्वसाधारणको भनाइ छ ।

निगमको अनावश्यक खर्च कटौती, निगमको आन्तरिक व्यवस्थापनमा सुधार, मूल्यवृद्धि गर्दा पनि बजारमा कम प्रभाव पर्नेगरी वैज्ञानिक विधि अपनाउनुपर्ने सर्वसाधारणको सुझाव छ । (ईमेज खबरबाट )