आज विश्व वातावरण दिवस

विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

 

काठमाडौं,जेठ,२२-

विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ  ।वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो ।

यसैबीच: प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औंल्याउनु भएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।