मुस्ताङ टिप्पर दुर्घटना : मृतकको संख्या १९ पुग्यो

मुस्ताङ,असार,२२-

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने मजदुरको संख्या १९ पुगेको छ । 

दुर्घटनामा १३ मजदुर घाइते भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको टिप्पर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिनुभयो । 

घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । ‘घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ’, प्रजिअ पौडेलले भन्नुभयो । 

घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । 

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनियर जगत प्रजापतिले बताउनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।साभार उज्योलो खबरबाट