डडेल्धुराबाट डोटी जादै गरेको स्कुल बस दुर्घटना : १६ जनाको मृत्यु

काठमाडौं,मंसिर,६-

डडेल्धुरा ( Dadeldhura District)

डडेलधुराबाट डोटी जादै गरेको स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डोटीबाट डडेल्धुरा मेला हेर्न आएर फर्किँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

से १ ख २९३ नम्बर बस दुर्घटनामा परेको हो । उग्रतारा मन्दिरमा मेला हेरेर फर्किने क्रममा डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुडुवा खोलाको भीरबाट ३ सय मिटर तल खस्दा १६ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेशका डीआईजी सुरज केसीले जानकारी दिनुभयो ।

११ जनाको घटनास्थलमा र पाँचजनाको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बस भीरबाट तल खसेको छ । डोटीको एक स्थानीय पीस जोन बोर्डिङ स्कुलको बस भएको प्रहरीले जनाएको छ । बोर्डिङ स्कुलको बस भए पनि मेला भर्न पुगेका स्थानीय बसमा सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ जना घाइते भएको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । डडेलधुराका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ भने स्थानीय पनि उद्धारमा खटिएको प्रहरीले जनाएको छ । घाइते केहीलाई स्थानीय अस्पताल र केहीलाई धनगढी लगिएको उहाँल जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु भएकामध्ये एकजनाको सनाखत भएको छ । डोटीको शिखर नगरपालिका ८ तिलतालीका योगेन्द्र रावलको मात्रै सनाखत भएको छ । बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन । रातिको समयमा भएकाले उद्धारमा पनि कठिनाई भएको प्रहरीले जनाएको छ । 

डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार मृतकको संख्या १६ पुगेको छ । उनले पीस जोन विद्या निकेतनको बसमा मेला भर्न आएका स्थानीय थिए ।  उनले बस खोलामा खसेको जानकारी दिँदै उद्धार कार्यमा सुरक्षा निकाय, स्थानीय खटिएको बताए । यात्रुको संख्या कति थियो भन्ने ऐकिन नभएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उहाँले जानकारी दिनुभयो ।