नेपाल भ्रष्टाचार गर्ने मुलुक मध्य १२४ औं स्थानमा : स्थिति चिन्ताजनक

सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक

काठमाडौं,माघ,१५-

नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो ।

१८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ अंक प्राप्त गरी १२४औं स्थानमा छ ।नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनले गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार नभएको देखिएको जनाएको छ ।सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचांकमा नेपालले गत वर्षझैं ३१ अंक पाएको छ ।

गत वर्ष नेपालभन्दा पछाडि रहेका मुलुकहरुले भने आफ्नो अवस्था सुधार गरेका कारण नेपालको स्तर गत वर्षभन्दा तल पुगेको हो ।गत वर्ष सुशासनको दृष्टिले १२२औं मुलुक बनेको नेपाल यो वर्ष दुई स्थान तल झरेर १२४औं स्थानमा पुगेको हो ।१७६ ओटा मुलुकहरुमा सर्वेक्षण हुँदा १२२औं स्थानमा रहेको नेपाल योपटक १८० ओटा मुलुकमा सर्वेक्षण हुँदा १२४औं स्थानमा पुगेको हो ।

सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक

सूचकांकमा डेनमार्कले कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककारुपमा सूचीकृत छ ।

यसैगरी, दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान २५औं, भारत ७८औं, श्रीलंका ८९औं, पाकिस्तान ११७औं, माल्दिभ्स १२४औं, बंगलादेश १४९औं र अफगानिस्तान १७२औं स्थानमा छन् ।

दक्षिण एसियामा नेपालको अवस्था बंगलादेश र अफगानिस्तानकोभन्दामात्रै राम्रो छ ।चीन ३९औं अंक प्राप्त गरी ८७औं स्थानमा रहेको छ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआइले यो सूची तयार पारेको हो ।

टीआइले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा धेरै देशको लोकतन्त्र नै संकटमा पर्दै गइरहेकोसमेत जनाएको छ ।१०० पूर्णांक मानी तयार गरिने सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुकहरु भ्रष्टाचारग्रस्त मानिन्छन् ।साभार : ईमेजखबरबाट