बुटवलकी निकिता खनालको ४ जीपीए, नेपाल टप गरेको दाबी

काठमाडौं,असार,१३-

एसइई परीक्षामा बुटवलकी निकिता खनालले सबै विषयमा ए प्लस प्राप्त गरेकी छन् ।बुटवल शंकरनगरको सिद्धार्थ इंलिस बोर्डिङ स्कूलबाट परीक्षा दिएकी उनले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् ।

उनको सिम्बोल नम्बर ०४८३४४४ रहेको छ । कक्षा १ सम्म स्कलर्स होम बोर्डिङ स्कूलमा पढेकी उनले २ कक्षा देखि सिद्धार्थमा पढेकी हुन् । कक्षा १ देखि नै प्रथम र द्धितीय हुँदै आएकी थिइन् ।उनले डाक्टर बन्ने लक्ष्य रहेको सुनाइन् । अब काठमाडौं गएर पढ्ने उनले बताइन् ।घोकेर भन्दा बुझेर पढ्ने गरेको भन्दै उनले भनिन्– ‘म रातभर कहिल्यै पढिन् थोरै पढेँ तर, बुझेर पढे । 

‘ल्याउन त ४ जीपीए ल्याउछु भनेर पढेको थिए । शुरुमा नतिजा सुन्दा विश्वास लागेन पछि खुसी लाग्यो । मिहिनेत गरे सकिने रहेछ ।’ उनले भनिन्– ‘शुरुमा ठूलो बुवाले नतिजा सुनाउनुभयो । पछि बुवाले फोन गरेर बधाइ दिनुभयो ।’ बुवा मनिराम खनाल बन विभाग अन्तर्गत प्युठानमा अधिकृत छन् । आमा तुलसा खनाल गृहणी हुन् ।

सिद्धार्थ इंलिस बोर्डिङ स्कूलका प्रिन्सिपल यमबहादुर राना निकिताको नतिजाले विद्यालय परिवारमै हर्षित बनाएको बताए ।निकिता आफै ४ जीपीए ल्याउनेमा ढुक्क देखिन्थिन् । हामीलाई पनि आशा थियो ।’ प्रिन्सिपल रानाले भने– ‘कुल ४ जिपिए मा ४ नै हासिल गरेकाले टप भएकोमा दाबी त रहने नै भयो ।’ यस विषयमा आफूहरुले थप बुझिरहेको उनको भनाइ थियो ।

सिद्धार्थ स्कूलबाट यसवर्ष १३६ जनाले एसइइ परीक्षा दिएका थिए ।जसमा २१ जनाले ३.६ देखि ४.० जीपीए, ५२ जनाले ३.२ देखि ३.६ जीपीए, ४५ जनाले २.८ देखि ३.२ जीपीए र ८ जनाले २.४ देखि २.८ जीपीए ल्याएका प्रिन्सिपल रानाले जानकारी दिए ।