सुर्खेतमा भोली बुधबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी

सुर्खेत,माघ,१४-जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ ।

तस्विरमा- आक्रोशित प्रर्दशनकारीद्धारा सुर्खेत बजार परिसरमा रहेको प्रहरी बिट तोडफोड गर्दै !!

वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो ।

पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

तनावग्रस्त- सिंहको मृत्युको विषयलाई लिएर मंगलबार दिनभर वीरेन्द्रनगर बजार तनावग्रस्त बन्यो ।

स्थानीय प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भयो भने प्रहरीले चलाएको गोली लागेर सातजना घाइते भएका छन् ।प्रदर्शनकारीको ढुंगा लागेर चारजना प्रहरीसमेत घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले लाठीचार्ज र दर्जनौं सेल अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

प्रदर्शनकारीले बजार क्षेत्रमा रहेको एउटा प्रहरी बिटसमेत तोडफोड गरेका छन् ।प्रहरीले घटनास्थलबाट बल प्रयोग गरेर मृतक सिंहको शव उठाएको छ ।