लमजुङमा पहिरोले घर पुरिदाँ एकै परिवारका तीनको मृत्यु

लमजुङ,असार,२६-लमजुङ जिल्लामा गएराती भारी वर्षासँगै आएको पहिरोमा पुरिदाँ  एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

फाईल तस्विर !!

बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको घर पहिरोमा पुरिएका हो । गए राति ११ बजेको समयमा पहिरोले घर पुरिदाँ ३० बर्षका दिपक तामाङ, उनको श्रीमती २५ बर्षीया विमाया तामाङ र नौ बर्षका छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भई रहेको छ ।