सबै जिल्लामा पुग्यो कोरोना,४३ जिल्ला बढी जोखिममा,कहाँ कति?

फाईल तस्विर !!

काठमाडौं,बैशाख,२४-दोस्रो चरणको कोरोना संक्रमण सबै जिल्लामा पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार ४३ वटा जिल्ला बढी जोखिममा देखिएका छन्।

२२ जिल्लामा ५०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा ५०० बढी संक्रमित छन् भने प्रदेश नं २ का धनुषा र पर्सामा संक्रमितको संख्या ५०० बढी पुगेको छ।

बागमती प्रदेशमा उपत्यकाका तीन जिल्लासँगै चितवन, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ र नुवाकोटमा ५०० बढी संक्रमित छन्।

गण्डकी, कर्णाली र सुदूरपश्चिममा एकएक जिल्लामा मात्रै संक्रमितको संख्या ५०० नाघेको छ। यी प्रदेशका कास्की, सुर्खेत र कैलालीमा ५०० बढी संक्रमित छन्।

लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया र कपिलवस्तुमा ५०० बढी संक्रमित छन्।

२१ जिल्लामा २०० बढी र ५०० भन्दा कम संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश नं २ का बारा, रौतहट, महोत्तरी, सर्लाही र सिरहामा २०० बढी संक्रमित पुगेका छन्।

बागमतीका सिन्धुपाल्चोक र सिन्धुली तथा गण्डकीका गोरखा, नवलपरासी पूर्व, तनहुँ, म्याग्दी र स्याङ्जामा संक्रमितको संख्या २०० बढी पुगेको छ। लुम्बिनीका नवलपरासी पश्चिम, अर्घाखाँची र गुल्मी, कर्णली प्रदेशको दैलेखमा संक्रमितको संख्या २०० नाघेको छ।

सुदूरपश्चिमका पनि कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी र अछाममा सक्रिय संक्रमित २०० बढी रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै उपत्यकाका तीन जिल्लामा संक्रमित छन्। काठमाडौंमा २५ हजार ९ सय ४० जना, ललितपुरमा ५ हजार ४ सय २९ जना र भक्तपुरमा ३ हजार २ सय ५२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको शुक्रबारको तथ्यांकमा उल्लेख छ।

देशभर परीक्षण गरिएका मध्ये १४ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ। संक्रमित मध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको छ।

सरकारले पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि र ठूला सहरमा ५०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको छ।

सोही निर्णयअनुसार शुक्रबार साँझ ७ बजेसम्ममा ६२ जिल्लाले निषेधाज्ञा घोषणा गरिसकेका छन्।

दोस्रो चरणको कोरोना संक्रमण नेपालमा दिनदिनै बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १ सय १६ जना संक्रमित थपिएका छन्। ५० जनाको मृत्यु भएको छ। काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन्।

संक्रमितमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमै छन्। ५ हजार ८ सय ६० जना उपत्यका बाहिरका संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले अस्पतालका आईसीयूमा ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जना छन्। उपत्यकाका अस्पतालमा १५ सय १९ जना आइसोलेसनमा, १ सय ९४ जना आईसीयूमा र भेन्टिलेटरमा ८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या थपिँदै गर्दा देशभरका अस्पतालमा आईसीयू बेड, अक्सिजनलगायत औषधिको अभाव देखिएको छ। कतिपय अस्पतालका बाहिरै बिरामीको उपचार सुरु भएको छ।उजिर कार्कि नेपालखबर