निवर्तमान अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

फाईल तस्विर !!

काठमाडौं,भदौ,३०-सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

डा. खतिवडाको थपिएको अर्थमन्त्रीको कार्यकाल पनि गत भदौ २० गते सकिएपछि उहाॅं अर्थ मन्त्रालयबाट बिदा हुनुभएको थियो।

उहाॅंलाई राष्ट्रिय सभा सांसद नियुक्त गरी अर्थमन्त्रीको रुपमा पनि निरन्तरता दिने प्रधानमन्त्रीको प्रयास असफल भएपछि खतिवडा मन्त्रालयबाट बिदा हुनुभएको थियो ।

संविधानको व्यवस्थाअनुसार मन्त्री बन्नका लागि संसद सदस्य हुनैपर्ने र नभएमा मन्त्री बनेको छ महिनाभित्र सांसद बन्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाअनुसार उहाॅं मन्त्री पदमा रहिरहनबाट बन्चित हुनुभएको थियो ।

राष्ट्रिय सभामा रिक्त सदस्य पदमा उहाॅंलाई नै नियुक्त गर्ने प्रधानमन्त्रीको योजना रहेकोमा नेकपा उपाध्यक्ष वामदेव गौतमले गरेको दाबीमा पार्टीका अन्य शीर्ष नेताहरुको समेत समर्थन रहेपछि ओलीले खतिवडालाई मन्त्रालयमा निरन्तरता दिन पाउनु भएको थिएन।

त्यसपछि सो मन्त्रालय आफैले हेर्दै आउनु भएका प्रधानमन्त्री ओलीले मन्त्रीसरहकै सुविधा दिई उनै खतिवडालाई सरकारकाे आर्थिक मामिला हेर्ने जिम्मेवारीमा फर्काउनु भएको हो ।