चिसोले कठ्याग्रिएर प्रदेश २ मा एक बालक सहित चार जनाको मृत्यु

फाईल तस्विर!!

काठमाडौं,माघ,६-अत्यधिक चिसोका कारण प्रदेश-२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका पुस यता चार जनाको मृत्यु भएको हो ।

चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ ।

प्रदेश नं २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १ सय २७ ठाउँमा आगो ताप्ने व्यवस्था गरीएको छ ।

शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बचन परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् ।

तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध गरेको छ ।