बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

फाईल तस्विर !!

काठमाण्डौं,जेठ,३-बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।आईतबार राति लण्डन क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो ।

स्पेनिस क्लब बार्सिलोनाले चेल्सीमाथि ४–० को एकतर्फी जित निकाल्यो ।

चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसंग पराजित बनेको थियो । त्यसको भोलि पल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि गुमाउन पुग्यो ।

बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो । खेलको १४ औं मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाईन् ।

एटाना बोनमतीले २१ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन् । कारोलिनी ग्राहम हेनसेनले स्पेनिस क्लबका लागि चौथो गोल गरेकी थिईन् ।

पहिलो हाफको ३६ मिनेट भित्र बार्सिलोनाले चेल्सीको पोस्टमा चार गोल गरिसकेको थियो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन । बार्सिलोनाको महिला टिमले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।

सन् २०१९ को च्याम्पियन्स लिगको फाईनलमा बार्सिलोना फ्रान्सेली क्लब लियोनको हातबाट ४–१ ले पराजित बनेको थियो ।

यस सिजन सुपर लिग सहित लिग कप उचालेको चेल्सीले च्याम्पियन्स लिगमा नमिठो हार ब्यहोर्यो ।

चेल्सी पहिलो पटक च्याम्पियन्स लिगको फाईनल पुगेको थियो । तर लण्डन क्लबले कीर्तिमानी फराकिलो हार ब्यहोर्यो । चेल्सीको पुरुष टिम समेत च्याम्पियन्स लिगको फाईनल पुगेको छ ।

लण्डन क्लबले उपाधिका लागि प्रिमियर लिग विजेता म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी