राष्ट्रिय सभा सदस्यमा बादल पराजित, देवकोटा विजयी

फाईल तस्विर !!

काठमाडौं,जेठ,६-वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ।

भर्खरै प्राप्त अन्तिम मतपरिणामअनुसार नेकपा एमाले माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार देवकोटाले प्राप्त गरेको कुल मतभार ५ हजार ८८ रहेको छ।

त्यसैगरी उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ले प्रदेश सभाबाट ४५ र स्थानीय तहबाट १०३ मत ल्याउनुभयो ।थापाले प्राप्त गरेको मतभार ४ हजार ४१ रहेको छ।

यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहबाट २ र प्रदेश सभाबाट पनि २ मत प्राप्त गर्नुभयो। उहाँले पाएको मतभार १३२ रहेको छ।

बिहीबार बिहान मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्रांगणमा मतदान भएको हो। निर्वाचनमा ९७.४० प्रतिशत मत खसेको थियो ।

प्रदेश सांसदतर्फ १०९ र स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७  थिए। तर ९ जना मतदाता उपस्थित भएनन्। त्यसमध्ये विवेकशील साझाका ३ जनाले मतदान नै नगर्ने घोषणा गरेका थिए। 

११० सदस्य रहेको प्रदेश सभामा दोलखाका सांसद पशुपति चौलागाईंको गत साता निधन भएपछि प्रदेश सभातर्फ १०९ मतदाता रहेका थिए।

विजेता देवकोटालाई नेपाली कांग्रेस र माओवादीले समेत मतदान गरेका थिए। त्यसको फाइदा उठाउँदै देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।