पपुना न्युगिनीविरुद्ध नेपालको शानदार जीत


काठमाडौं,भदौ,२२-नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएसँगै संकटमा परेको थियो ।

तर रोहित पौडेल र सोमपाल कामीबीच आठौं विकेटका लागि ५२ रनको साझेदारी भएसँगै नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर जित हासिल गरेको हो । रोहितले ४१ तथा सोमपालले अविजित २२ रन बनाए । त्यस्तै डेब्यु खेलाडी आशिफ शेखले ३० रन जोडे ।

यसअघि नेपालको उत्कृष्ट बलिङका कारण पीएनजी ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा सिमित हुन पुग्यो । लिगा सिआकाले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिए । डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २/२ तथा सोमपालले १ विकेट लिए ।

यो खेलबाटै विक्रम, आशिफ र कुशल भुर्तेलले एक दिवसीयमा डेब्यु गरेका हुन् । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको तयारीका लागि ओमानमा रहेको नेपालले पीएनजीसँग दुई एक दिवसीय क्रिकेट श्रृंखला खेलिरहेको हो । दोस्रो खेल शुक्रवार हुनेछ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला भदौ २८ गतेदेखि शुरु हुनेछ ।