सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

Image Not Foundकैलाली,पुष,१-सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात् सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाएका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात् ९ लाख ६ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसंख्या झन्डै १९ लाख छ ।     

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकाले खोप दिने कार्य नियमित रूपमा चलिरहेको बताउनुभयो । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडेर्ना खोप दिने तयारी पनि गरिएको छ । प्रवक्ता कार्कीले भने, ‘पुसदेखि कैलाली र डँडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडेर्नाको खोप दिने तयारी छ ।’ पछिल्ला महीनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्नेगरी भइरहेका गतिविधिबाट कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ ।

कोरोनाको नयाँ रूप ‘ओमिक्रोन’को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतीजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ ।

प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना संक्रमण भएको पुष्टि भएको पाइएको छैन । सीमा नाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शंकास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । संक्रमित भएर उपचार व्यवस्थापनपछि घर फर्किएका कतिपय व्यक्तिको स्वास्थ्यमा विभिन्न खालको स्वास्थ्य जटिलता भने देखिने गरेको छ ।

रिंगटा लाग्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको संक्रमणपछि निको भएका धनगढीका एक शिक्षकले बताउनुभयो । ‘कसै कसैलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ,’ उनले भने, ‘उपचार व्यवस्थापनपछि घर फर्किएकोमा व्यक्तिअनुसार फरक स्वास्थ्य जटिलता देखिने गरेको छ ।’ रोगको संक्रमणपछि भएको हैरानीले मानसिक तनाव सृजना हुँदा पनि सम्बन्धित व्यक्तिमा रिँगटा लाग्ने, शरीरका अंग दुख्ने, कमजोरी महसुस हुने समस्या देखिने गरेको छ । हाल संक्रमण र मृत्यु हुने दर केही घटेको देखिएपनि यो रोगको संक्रमणको जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार बुधवारसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रासस