एमसीसीका विषयमा नेपालले दियो चीन र अमेरिकालाई जवाफ

विकास सहायता लिने/नलिने निर्णय सार्वभौम संसदले गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं,फागुन,८-एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो ।

 

हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो, परराष्ट्र मन्त्रालयले भनेको छ। नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसदले मात्रै निर्णय गर्छ ।

नेपाल र अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर विभिन्न धारणा सार्वजनिक भएपछि परराष्ट्रले आज विज्ञप्ति जारी गर्दै नेपालको लाइन स्पष्ट पारेको हो ।

नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको र यो नीतिअनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको विकास र पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको परराष्ट्रले जनाएको छ । पछिल्ला दिन नेपाल र एमसीसीलाई लिएर अमेरिका र चीनबीच भनाभन चलेको थियो । अमेरिकाले एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण पास नभएको भन्ने बुझ्ने बताएपछि चीनले त्यसको प्रतिवाद गरेको थियो ।

चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपालमाथि ‘धम्कीपूर्ण कूटनीति’ अपनाएको आरोप लगाएको थियो ।