स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको शिलान्यास गर्दै उहाँले संघीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

निर्वाचन गराउने काम निर्वाचन आयोगको रहेको भन्दै प्रधनमन्त्री देउवाले सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग मात्र गर्ने बताउनुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने वचन दिनुभयो ।

यसैबीच प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सांसद गोपीबहादुर अछामी, रमेशजङ्ग रायमाझी र भानुभक्त ढकालले यस क्षेत्रका जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले चार बिघा एक कट्ठा जग्गा क्षेत्रफलमा २७ करोडको लागतमा सो प्रशासनिक कार्यालय भवन निर्माण हुने जानकारी दिनुभयो ।

यसैगरी, प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैचा नगरपालिका–१ स्थित नवनिर्मित नगर अस्पतालको उद्घाटन गर्नुभएको छ ।