युक्रेनबाट छुट्यो २६ सय टन मकै बोकेको जहाज, घट्ला विश्वको खाद्यान्न महँगी ?

युक्रेनबाट छुट्यो २६ सय टन मकै बोकेको जहाज, घट्ला विश्वको खाद्यान्न महँगी ?
ओडेसा बन्दरगाह । फाइल तस्वीर ।

ओडेसा (युक्रेन)साउन,१६-रुससँग युक्रेनको ऐतिहासिक सम्झौता अनुरूप युक्रेनको ओडेसामा रहेको एउटा बन्दरगाहबाट अन्न बोकेको एउटा जहाज छुटेको छ।टर्की र युक्रेनका अधिकारीहरूले बताएअनुसार स्थानीय समयअनुसार सोमवार बिहानै ओडेसको दक्षिणी बन्दरगाहबाट सेर्रा लियोनको झन्डा बोकेको सो जहाज लेबनानतर्फ हिँडेको हो ।

युक्रेनमाथि रुसले फेब्रुअरीको अन्त्यमा आक्रमण गरेयता रुसले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात रोक्दै आएको थियो।यसको प्रभावले विश्वभर गहुँ, भटमास, मकैलगायत अन्नको आपूर्ति प्रभावित भएर भाउ अकासिएको थियो।संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा केही दिनअघि मात्रै सम्झौतामा हस्ताक्षर भएको थियो ।

बन्दरगाहबाट ढुवानी सुचारु भएपछि विश्वव्यापी खाद्य संकट मत्थर हुने र अन्नको भाउ पुनःओरालो लाग्ने आशा बढेको छ। सम्झौताअन्तर्गत इस्तानबुलमा स्थापित संयुक्त सहकार्य केन्द्र (जेसीसी)का अनुसार जहाजले करीब २६ हजार टन मकै बोकेको छ ।जहाज मंगलवार टर्कीको जलक्षेत्रमा निरीक्षणका लागि आइपुग्ने अपेक्षा गरिएको छ ।

बन्दरगाहबाट निर्यात फुकुवा भएपछि अन्न निर्यातबाट युक्रेनले कम्तीमा पनि १ अर्ब डलर विदेशी मुद्रा आर्जन गर्ने र यसले आगामी वर्ष कृषि क्षेत्रमा योजनाको अवसर दिएको युक्रेनका पूर्वाधारमन्त्री आलेक्जान्डर कुब्राकोभले फेसबुक पोष्टमा लेखेका छन्।आगामी हप्ताहरूमा ओडेसाबाट अन्न निर्यातका लागि १६ ओटा जहाज कुरिरहेको पनि उनले बताएका छन् ।

गत महीना रुस र युक्रेनबीच १२० दिनका लागि अन्न निर्यात सम्झौता भएको थियो।दुवै पक्ष सहमत भए सम्झौताको म्याद थप बढाउन सकिने बताइएको छ।युक्रेनी अन्न निकासी हुन नसक्दा विश्वभर गहुँबाट बनेका पाउरोटी, पास्ता लगायत खानेकुराको भाउ महँगो बनेको छ।साथै खाने तेल र मलखादको भाउ पनि अकासिएको छ । 

सम्झौताअनुसार रुसले अन्न बोकेको जहाजमा ढुवानी भइरहँदा वा जलमार्गमा रहँदा बन्दरगाहलाई निशाना बनाउने छैन।जहाजमा हातहतियार तस्करी भएको छ कि छैन भनेर रुसको आशंका साम्य पार्न टर्कीले जहाजको निरीक्षण गर्नेछ।दक्षिणी युक्रेनका ओडेसा, चोर्नोमोस्र्क र पिभ्डेन्नीस्थित बन्दरगाहबाट अन्न निर्यात हुनेछ ।

सम्झौतामा हस्ताक्षर भएको एक दिन पनि नबित्दै रुसले ओडेसा बन्दरगाहमा दुई ओटा मिसाइल प्रहार गरेपछि सम्झौता पूरा नहुने भय बढेको थियो।रुसले फेरि पनि आक्रमण गर्न भय भए पनि जहाज ढुवानीको खबरले केही राहत दिएको छ।आर्थिक खबरबाट