काठमाडौं,भदौ,२८-नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ ।
कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।
खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दा नेपालको अग्रता २-० गोलको बन्यो ।
३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई तेब्बर अग्रता दिलाए ।
खेलको ३८ औं मिनेटमा निरोजले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६-० को जित दिलाए ।
अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।
पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएर फाइनलमा स्थान बनाईसकेको छ ।
समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।खेलपाटीबाट