एसिया कप खेल्न नेपाली फुटबल टोली फिलिपिन्स प्रस्थान

काठमाडौं, चैत १३- 
एसिया कप फुटबलमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राती फिलिपिन्स प्रस्थान गरेको छ ।नेपालले यही चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध छनौट खेल खेल्दैछ । उक्त खेलको लागि विराज महर्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली राति हङकङ हुँदै मनिला पुगेको हो ।

जापानी प्रशिक्षक ग्योतोकु कोजुको प्रशिक्षणमा रहेको नेपाली टोलीमा अनिल गुरुङ समेटिएका छैनन् । होम एण्ड अवेको आधारमा हुने छनौटअन्तर्गत नेपालको यो पहिलो खेल हो ।

एशिया कप छनौटबाट सुरुमै बाहिरिएको नेपालले एएफसी सोलीडारीटी कप जितेपछि एशियाली फुटबल महासंघले नेपाललाई फेरी प्रतियोगितामा सामेल गराएको हो ।

नेपालले समुहमा फिलिपिन्ससँगै ताजकिस्तान र यमनसँग खेल्नेछ । समुहबाट छानिएका टोलीले सन् २०१९ मा संयुक्त अरब ईमाईरेट्स युएईमा हुने एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।

एशियन कपका लागि हालसम्म १२ टोली छनौट भईसकेकका छन् भने बाँकी १२ टोलीका लागि २४ टोलीले छनौट खेल खेल्दैछन् ।सभार ईमेजखबरबाट