मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

Image Not Foundनवलपरासी,मंसिर,२२-नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन्।केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको संख्या बढेको हो ।

तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ।अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिकाबाट पश्चिममा विनयी त्रिवेणी गाउँपालिकासम्म तोरीखेतीको पकेट क्षेत्र मानिन्छ।वर्षौंदेखि तोरीखेती लगाउँदै आएकी देवचुली नगरपालिकाका सीता गौतमले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताइन् ।

‘दुई–तीन वर्षदेखि गाउँघरमा पनि तोरीको माग बढेको छ,’ उनले भनिन्, ‘घरका लागि पनि स्वस्थकर तेल प्रयोगका लागि वर्षेनि खेती गरेकोमा केही वर्षदेखि गाउँघरमै विक्रीका लागि पनि धेरै लगाउने गरेका छौं।’कुखुराको मल प्रयोग गर्न थालेपछि तोरी राम्रो हुन थालेको उनको भनाइ छ ।

जिल्लाका कावासोती, मध्यविन्दु, देवचुली र गैंडाकोट नगरपालिका क्षेत्र तोरीको पकेट क्षेत्र मानिन्छन्।तोरीखेतीका लागि किसान आकर्षित भइरहँदा चुनौती र समस्या उत्तिकै रहेको गुनासो कायमै छ ।बाली लगाउने शुरुआती दिनदेखि नै मल नपाएका किसान तोरी लगाउँदा समयमा मल उपलब्ध नहुनु मुख्य समस्याको रूपमा देखापरेको बताउँछन् ।

सरकारले मल आएको भने पनि समयमा मल नपाइएको कृषक कल्पना भण्डारीले गुनासो गरिन्।‘अहिले तोरीको बजार खोज्नु नै पर्दैन, घरैबाट विक्री हुन्छ,’ उनले भनिन्, ‘खेती लगाउँदा मल नपाउने समस्याले कृषकलाई सधैं पिरोल्ने गरेको छ।’धान रोप्ने समयमा मल नपाएका किसानले तोरी लगाउँदा पनि यसको अभाव झेलिरहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २ हजार तीन सय ३५ हेक्टरमा तोरी बाली लगाइएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो।‘तोरी बाली लगाउन पनि सजिलो, खासै दु:ख पनि नहुने भएकाले दुई वर्षदेखि यसको खेतीमा आकर्षण बढेको छ,’ उनले भने ।

पछिल्ला वर्षमा किसानले तोरीको राम्रै भाउ पाउन थालेका छन् ।गाउँघरमा अहिले तोरीको मूल्य प्रतिक्विन्टल ११ हजारसम्म रहेको छ।छरेको ८० देखि ९० दिनमा तोरीखेती तयार हुन्छ।आफैले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलका रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरीखेतीप्रति आकर्षित हुँदै गएको बताइएको छ । रासस