प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” अमेरिका प्रस्थान

काठमाडौं,भदौ,३०-प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गर्नुभएको छ।शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो।संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उहाँ न्युयोर्क प्रस्थान गर्नुभएको हो।

उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत अन्य मन्त्रीहरूको उपस्थिति थियो।

त्यसको अघिल्लो दिन मंगलबार उहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।

उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्रीको भ्रमणमा उहाँकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी छन्।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।