विश्वकप क्रिकेट २०२३ तयारी पुरा

१० टिमका १० कप्तानको बारेमा

तस्बिर सौजन्य: आई.सी.सी।

काठमाडौं,असोज,१७-एकदिवसीय विश्वकप क्रिकेट भोलिबाट सुरु हुँदैछ।भारतका विभिन्न सहरमा आयोजना हुने सन् २०२३ को विश्वकप क्रिकेटको सम्पूर्ण तयारी पुरा भइसकेको छ।विश्वकप खेल्नका लागि सबै १० देशका टोली भारत पुगिसकेका छन्।

भोलिबाट सुरु हुने विश्वकपको फाइनल खेल आगामी नोभेम्बर १९ मा हुनेछ।विश्वकप क्रिकेटको पहिलो म्याच इंग्ल्यान्ड र न्यूजील्यान्डका बीच हुनेछ।विश्वकप जित्नका लागि सबै १० टोलीले आफ्नो सबै शक्ति अपनाउने छन्।  

सन् २०२३ को विश्वकप क्रिकेटमा १० देशका १० टिमले सहभागिता जनाउँदै छ।१० देशका १० कप्तानको उमेर ४० वर्ष मुनिको छ। जनौं ती १० कप्तानको बारेमा।  

१. भारतः भारतीय टीमका कप्तान रोहित शर्मा हुन्।३६ सालका रोहितको नाममा वनडे क्रिकेटमा तीन दोहोरो सतक लगाउने किर्तिमानी छ।उनी विश्वका एक्ला खेलाडी हुन् जसले वनडे क्रिकेटमा तीन दोहोरो सतक लगाएका हुन्।उनले हालसम्म २५१ वनडे म्याच खेलेका छन्।जसमा १०११२ रन बनाएका छन्। ओपनिङ्ग खेलाडीको रुपमा मैदान उत्रने गरेका रोहित दाहिने हातका ब्याट्सम्यान हुन्।रोहितले हालसम्म ५२ टेस्ट म्याच खेलेकोमा  ३६७७ रन र १४८ टी–२० म्याचमा ३८५३ रन बनाएका छन्।  

२. इंग्ल्यान्डः सन् २०१९ को विश्वकपको विजेता इंग्ल्यान्ड टिमको कमान ३३ वर्षका जोस बटलरको हातमा छ।विकेटकिपर ब्याट्सम्यान बटलर ओपनिङ्गमा खेल्न मैदान उत्रने गर्छन्।उनले हालसम्म १६९ वनडे म्याच खेलेका छन्।जसमा ४८२३ रन बनाएका छन्।जसमा ११ सेञ्चुरी पनि रहेका छन्।इंग्ल्यान्ड यसपटकको विश्वकप जित्ने टोलीमध्येको बलियो दावेदार टिम पनि हो।

३. न्यूजील्यान्ड : न्यूजील्यान्डको कप्तानी केन विलियमसनको हातमा छ।उनलाई क्रिकेट जगतमा नचिन्ने सायदै कोही होला। न्यूजील्यान्डले सन् २०१९ को विश्वकप क्रिकेटमा फाइनल खेलेको थियो।जसमा इंग्ल्यान्डसँग पराजित हुनु पर्यो। तर, यसपटक भने विलियमसन आफ्नो टिमलाई विश्वकप क्रिकेटको उपाधि दिलाउन हरसम्भव प्रयास गर्नेछन्।उनले हालसम्म १६१ वनडे म्याच खेलेका छन्।जसमा ६५५४ रन बनाएका छन्।

४. पाकिस्तान : पाकिस्तान टीमको कमान २८ वर्षका बाबर आजमको हातमा छ।बाबर समेत प्रायः जसो पाकिस्तानी खेलाडीहरू पहिलोपटक भारत भ्रमणमा छन्। बाबरले हालसम्म १०८ वनडे म्याच खेलेका छन्। जसमा उनले १९ सेञ्चुरीसहित ५४०९ रन बनाएका छन्।

५. दक्षिण अफ्रीका : दक्षिण अफ्रीका टिमको कमान टेम्बा बावुमाले गर्दैछन्।३३ वर्षका टेम्बा दाहिने हातका ब्याट्सम्यान हुन्। मिडिल अर्डरमा ब्याटिङका लागि मैदान उत्रने गरेका टेम्बाले टिमलाई मजबुति दिलाउने काम गर्छन्।उनले हालसम्म ३० वनडे म्याचमा १३६७ रन बनाएका छन्। ५६ टेस्ट म्याचमा २९९७ र ३६ टी २० म्याचमा उनले ६७० रन बनाएका छन्।  

६. अस्ट्रेलिया : अस्ट्रेलिया यस्तो मुलुक हो, जसले सबैभन्दा धेरैपटक विश्वकप क्रिकेटको उपाधि जितिसकेको छ।सबैभन्दा धेरै ५ पटक विश्वकप क्रिकेटको उपाधि जितेको अस्ट्रेलियाली टिमको कप्तानी यसपटक प्याट कमिन्स सम्हालीरहेका छन्। कंगारू टीमले पछिल्लो पटक सन् २०१५ मा विश्वकप क्रिकेटको उपाधि जितेको थियो।३० वर्षका तीव्र बलर कमिन्सले हालसम्म ७७ वनडे म्याच खेलेका छन्।जसमा उनले १२६ विकेट लिएका छन्।  

७. बङ्गलादेश : बङ्गलादेश टिमको कप्तानीको कमान स्पिन अलराउन्डर शाकिब अल हसनको हातमा छ। शाकिब लेफ्ट आर्म अर्थोडक्स स्पिनर हुन्।जबकि मिडिल अर्डरमा उनी ब्याटिङ्गका लागि मैदान उत्रने गर्छन्।शाकिबले हालसम्म २४० वनडे म्याच खेलेका छन्। जसमा ७३८४ रन बनाएका छन् भने बलिङमा ३०८ विकेट लिएका छन्।

८. नेदरल्यान्ड्स : नेदरल्यान्ड्स टिमको कप्तानी २७ वर्षका स्कट एडवर्ड्सको हातमा छ।विकेटकिपर बल्लेबाज स्कट सन् २०२३ विश्वकप क्रिकेटको सबैभन्दा कम उमेरका कप्तान पनि हुन्।उनले हालसम्म ३८ वनडे म्याच खेलेका छन्।जसमा उनले १२१२ रन बनाएका छन्।  

९. श्रीलङ्का : श्रीलङ्काली टिमका कप्तान ३२ वर्षका दासुन शनाका गरिरहेका छन्।तीव्र बलरका साथै अलराउन्डर रहेका शनाका मिडिल अर्डरमा ब्याटिङ्ग गर्नका लागि मैदान उत्रिने खेलाडी हुन्। उनले हालसम्म ६७ वनडे म्याच खेलेका छन्। जसमा उनले १२०४ रन बनाएका छन्। साथै शनाकाले २७ विकेट पनि लिएका छन्।

१०. अफगानिस्तान : अफगानिस्तान टीमको कप्तानी हशमतुल्लाह शाहिदी गरिरहेका छन्।२८ वर्षका हशमतुल्लाह टप अर्डरको देव्रे हातका ब्याट्सम्यान हुन्।उनले हालसम्म ६४ वनडे म्याच खेलेका छन्।जसमा १७७५ रन बनाएका छन्।हशमतुल्लाह अफ स्पिन बलिङ्ग पनि गर्छन्।साभार नागरिक न्यूजबाट