आज माघे संक्रान्ति : परम्परा अनुसार मनाइँदै

काठमाडौं,माघ,१-आज माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

थारु समुदायले पनि आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ आज माघी मनाउने गर्दछन् । आज घिउ, चाकु, तरुल, सखरखण्ड तथा खिचडी खाने प्रचलन छ । पुस मसान्तका दिन उसिनेको तरुल माघ १ गते खाने चलन छ । यस्ता खानेकुराहरुले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

आजको दिन स्नान, जप, तप, ध्यान साधना, दान गरे पुण्य पाइने धार्मिक मान्यता छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी लगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्दछ ।

मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन गरेर माघी पर्व मनाउने गर्दछन् । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।