पूर्वाधार मन्त्री महासेठलाई मेयर बालेनको एक ट्रक फोहोर उपहार

सडक डिभिजन काठमाडौं : बालेनले अराजक व्यवहार देखाए, अब प्रतिकार हुन्छ !!

काठमाडौं,जेठ,१३-काठमाडौं महानगरपालिकाले सडक डिभिजन मिनभवन काठमाण्डौं कार्यालयको गेटमा उपहार स्वरुप फोहोर फालिए दिएको छ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनु भएको थियो। महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो ।

विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको काठमाडौं महानगरपालिका मेयर बालेनले आफ्नो अफिसियल फेसबुक मार्फत भनाइ व्यक्त गर्नु भएको छ।

यसैविच : आफ्नो गेटमै फोहोर थुपार्दे पछि काठमाडौं महानगरपालिकालाई सडक डिभिजन काठमाडौंले प्रतिकारमा उत्रिने चेतावनी दिएको छ।

महानगरका प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उपहार भन्दै धुलो पठाए पछि शनिबार राति सडक डिभिजन कार्यालय काठमाडौंले एक विज्ञप्ति निकाल्दै अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको हो।

कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाडौंको गम्भिर ध्यानाकर्षण भएको छ जनाएको छ।

‘काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,’ विज्ञप्तिमा उल्लेख छ ।

डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई सडक डिभिजनको रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सडक डिभिजन काठमाण्डौँको कार्य क्षेत्र भित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाब दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्र सँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाण्डौं बाध्य हुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ।’भनि उल्लेख गरेको छ।