ऊर्जा सम्मेलन आजदेखि काठमाडौमा शुरु हुँदै

काठमाडौ, मंसिर ३०- काठमाडौमा  आजदेखि उर्जा सम्मेलन शुरु हुँदै छ । आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले आज र भोली दुई दिवसीय ‘ऊर्जा सम्मेलन’को आयोजना गरेको हो ।सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्तराज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, विभिन्न देशका जलस्रोतविज्ञ, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।सम्मेलनको विहान ९ बजे होटल हायातमा उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले दश हजार मेगावाट जलविद्युत् उत्पादनको विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको इपानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिनुभयो ।सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विशेष कार्यपत्रसहित सम्बोधन गर्ने कार्यक्रम छ । साथै आन्तरिक लगानी, वैदेशिक लगानी एवम् वित्तीय व्यवस्थापन सन्दर्भमा समेत राष्ट्रिय एवम् अन्तर्रा्ष्ट्रिय व्यक्तित्वबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।सम्मेलनमा ऊर्जा सुरक्षाको अवधारणा, विद्युत् माग एवम् आपूर्तिको विश्लेषण जस्ता विषयमा समेत छलफल हुनेछ । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५०० जनाको सहभागिताको अपेक्षा गरिएको महासचिव कुमार पाण्डेले जानकारी दिनुभयो ।