सडक निर्माणमा बेवास्ता गर्दा यात्रुले सधैँ सास्ती खेप्दै

जाजरकोट ,पौष ८-जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो ।यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन ।उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त परै जाओस्, कसले बनाउने भन्नेमै विवाद देखिन्छ ।

६ सय मिटर दूरीको सडक सम्बन्धित निकायले बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको स्थानीयवासी जीवन खड्काले बताउनुभयो । “सडकको रिम्नास्थित भेरी नदीमा १० करोडको पुल बने पनि रिम्नादेखि छेपारेसम्मको बाटो बनेन,” खड्काले भने ।रिम्नास्थित भेरी नदीमा अनक लुम्बिनी जेभी काठमाडौँले २ वर्ष लगाएर पुल बनाएको हो ।