अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्तरमै आलोचित

एजेन्सी,माघ १७ -शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएको छ ।अन्तर्राष्ट्रिय जनमतमात्र नभई स्वयं अमेरिकी एक अदालतलेसमेत ट्रम्पको निर्णयविरुद्ध अन्तरिम आदेश दिइसकेको छ । अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ताले ट्रम्पको आदेश असंवैधानिक रहेको जिकीर गरेका छन् भने थुप्रै संघीय न्यायालयले ट्रम्पको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएका छन् ।

तैपनि ट्रम्प प्रशासन आफ्नो निर्णयबाट टसमस भएको छैन । ह्वाइट हाउसमा ट्रम्पसँग पहिलो अन्तर्राष्ट्रिय नेताका रुपमा भेट गर्न लागेकी ब्रिटिश प्रधानमन्त्री टेरिजा मेले पनि विदेश मन्त्रालयमार्फत् ट्रम्पको निर्णयप्रति चिन्ता व्यक्त गरेकी छन् ।ब्रिटेनका लेबर पार्टीका नेता जेरेमी कार्बिनले त ट्रम्पको ब्रिटेन यात्रा नै रोक्नुपर्नेसम्मको प्रस्ताव गरेका छन् । ट्रम्पले आफ्नो निर्णय फिर्ता नलिएसम्म ब्रिटेन आउन दिन नहुने उनको भनाइ छ ।ट्रम्पको निर्णयको आलोचना गर्दै जर्मन चान्सलर एञ्जेला मर्केलले यस रवैयाबाट आतंकवादसँग लड्न नसकिने प्रष्ट पारेकी छन् ।

अमेरिकामै पनि रिपब्लिकन सिनेटर जोन मैक्केनले यस निर्णयले आईएसआईलाई फाइदा पुग्ने आशंका व्यक्त गरेका छन् ।राष्ट्रपति ट्रम्पले आफ्नो फैसलाको बचाउ गर्दै यस निर्णयबाट हलचल पैदा हुनपर्ने कुनै कारण नभएको टिप्पणी गरेका छन् ।अरब लिगका प्रमुख अहमद अबूल गेथले यो निर्णय कदापी स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

ईरान र इराकले त अमेरिकी नागरिकलाई पनि आफ्नो देशमा प्रवेश नदिने प्रष्ट गरिसकेका छन् । ट्रम्पले इस्लामिक आतंककारीलाई देशबाट बाहिर राख्ने भन्दै शुक्रबार इराक, लिबिया, सुडान, सोमालिया, यमन र इरानका नागरिकलाई तीन महिना तथा सिरियालीलाई अर्को सूचना नभएसम्मका अमेरिका प्रवेशमा रोक लगाउन आदेश जारी गरेका थिए ।साभार ईमेज खबरबाट