स्ववियु चुनावको प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौं, फागुन १ – यही फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन आइतबार मतदाता नामावली प्रकाशन गरिने कार्यसूचि छ । नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

काठमाडौंका त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स सानोठिमी क्याम्पस लगायतका क्याम्पसमा विद्यार्थीको संख्याबारे विवाद भएपछि छानबिनका लागि समिति गठन गरिएको छ ।आइतबार प्रकाशित हुने मतदाता नामावलीमा मंगलबार दाबी विरोध गर्न सकिने र त्यसमाथि छानबिन गरी फागुन ४ गते अन्तिम नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ ।

फागुन ५ गते मनोनयन दाखिला र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने छ भने फागुन ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । मिश्रित प्रणालीबाट हुन लागेको मतदानमा सभापति कोषाध्यक्ष र सचिव प्रत्यक्ष चुनिने छन् भने बाँकी पद समानुपातिक पद्धतीबाट चुनिने छन् ।नेविसंघको असन्तुष्ट समूह र केही साना विद्यार्थी संगठनले चुनावको विरोध गर्दै काठमाडौंका सरकारी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

२८ वर्ष उमेर हद लगाउनु नहुने भन्दै विरोधमा रहेको नेविसंघलाई कांग्रेस सभापति शेरबहादुर देउवाले त्रिविको निर्णय मानेर उमेर हद स्वीकार्न निर्देशन दिएपनि एउटा पक्षले क्याम्पसहरुमा तालाबन्दी गरेको हो ।१० वटा विद्यार्थी संघसंगठनको बैठकले त्रिविको निर्णय मान्ने र यसअघि नै प्रकाशित कार्यतालिका अनुसार अघि बढ्न आग्रह गरेका छन् । साभार उज्यालो अनलाईनबाट