बाँकेमा सञ्चालीत विद्यालय र मदरसाले बालबालिकाको पढाई शिपमा सुधार आउने

बाँके,फागुन ३-बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाईशिप बढाउन गठन गरिएका टोल पढाई समुहहरुको सक्रियताले गर्दा बालबालिकाको पढाई शिपमा सुधार आउने देखिएको छ । बालबालिकाको पढाई शिप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत बाँकेमा गठन गरिएका टोल पढाई समुहहरु अहिले स्थानीय पढाई सामाग्री निर्माणमा ब्यस्त छन् ।

बालबालिकाहरुको पढाई तथा सिकाईलाई प्रोत्साहित गर्ने उदेश्यले हाल स्थानीय रुपमा सबै टोल पढाई समुहहरुले पढाई सामाग्रीहरु निर्माण कार्यलाई तिव्र गतिमा अगाडी बढाई रहेको बाँके युनेस्को क्लबले जनाएको छ । क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउन जिल्लामा ६ सय ७८ वटा टोल पढाई समूह निर्माण गरी ती समूह मार्फत बालबालिकाको पढाई शिप सुधारमा सक्रिय रुपमा लागेको बताएका छन् ।

युएसएडको आर्थिक सहयोगमा बाँकेका ३ सय ५९ वटा बिद्यालय र मदरसामा संचालन गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत टोल पढाई समुहले विद्यालय बिदाको दिनमा, चाडपर्वको बेलामा वा विद्यालय अघिपछि खेलेर बिताउने समयलाई बालबालिकाले टोल पढाई समूहको सहयोगमा पढ्ने तथा सिक्ने गरी पढाउन शुरु गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ३ सय ५९ सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्ने ६२ हजार बालबालिकाको शैक्षिक शिप विकासमा सहयोग गरिरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।