संशोधनबिना नै चुनावमा जानुपर्छ :देउवा

काठमाडौं, चैत ८ – विभिन्न राजनीतिक दल, नागरिक समाज र मानवअधिकारकर्मीहरुले चुनाव नै अहिलेको राजनीतिक गतिरोधको निकास भएकोमा जोड दिएका छन् ।राष्ट्रिय मानवअधिकार आयोग र नेपाल मानवअधिकार संगठनले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले चुनावमा गएर मुलुकलाई निकास दिन सरोकारवालाहरुलाई सुझावसमेत दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्न दुई तिहाइ नपुग्ने भएकाले संशोधनबिना नै चुनावमा जानुपर्ने बताउनुभयो ।

यस्तै, नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा अहिले अल्पमतले बहुमतलाई शासन गरिरहेको जिकिर गर्नुभयो,कार्यक्रममा मधेसी नेताहरु र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले भने संशोधनपछिमात्र चुनावमा जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले ‘मण्डले राष्ट्रावदको पुनः जागरण हुन खोजेको’ भन्दै राजनीतिक दलहरुलाई यसप्रति सचेत हुन आग्रह गर्नु भएको थियो ।कार्यक्रममा करिब दुई दर्जन विभिन्न दलका नेता, नागरिक समाजलगायतले मुलुकको राजनीतिक निकासकाबारेमा आ–आफ्नो धारणा राखेका थिए ।