शहीद गौतमका परिवारलाई १० लाख हस्तान्तरण , भारतले माफी माग्नुपर्छ गृहमन्त्री, कांग्रेसका तर्फबाट ७ लाख सहयोग

कञ्चनपुर,चैत, १२ –
कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ ।

गृहमन्त्री बिमलेन्द्र निधिले गौतमको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गर्नुभयो। उहाँले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नु भएको हो ।

शहीद परिवारलाई यसअघि नेकपा एमालेले ५ लाख र माओवादी केन्द्रले ६ लाख राहत प्रदान गरेको थियो ।

परिवारलाई राहत हस्तान्तरण गरेपछि घटनास्थल अवलोकन गर्दै गृहमन्त्री निधिले भारतले यस घटनाप्रति माफी माग्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो भारतले नै गोली चलाएको पुष्टि भइसकेको छ । उसले यस घटनाप्रति माफी माग्नुपर्छ र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ।

उहाँले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यसैविच
सोही घटनामा गम्भीर घाइते भइ धनगढीमा उपचार गराइरहेका टिकाराम चापागाईंलाई थप उपचारका लागि गृहमन्त्री गौतमले काठमाडौं लैजानु भएको छ । उहाँको धनगढी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो । नेपाली कांग्रेसका तर्फबाट उनले घाइते चापागाईंलाई पनि १ लाख राहत उपलब्ध गराउनुभयो ।

यसैबीच शहीद गौतमका परिवारलाई नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ६ ले ४ लाख राहत प्रदान गरेको छ । उक्त रकम गृहमन्त्री निधिले शहीदपत्नी लक्ष्मीलाई हस्तान्तरण गर्नुभयो। नेविसंघले घाइते चापागाईंलाई पनि १ लाख ३० हजार १०१ रुपैयाँ सहयोग गरेको छ ।