लोकप्रिय काम गर्न काँग्रेसलाई विज्ञको सुझाव

काठमाण्डु, चैत २३-
स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणपत्रमा जनप्रिय र लोकप्रिय कार्यक्रमहरु समावेश गर्न नेपाली कांग्रेसलाई बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।चुनाव घोषणापत्र तयारी समितिले आज पार्टी केन्द्रीय कार्यालयमा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लोकप्रिय कार्यक्रमलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्न सुझाव दिएका हुन् ।उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना लोकप्रिय कामहरुबाट अघि बढिरहेको उल्लेख गर्दै केही त्यस्ता स्थानीय तहको प्रत्यक्ष सरोकार राख्ने तथा युवा लक्षित कार्यक्रम समेट्नु पर्नेमा जोड दिएका हुन् ।

अर्थविद् विश्वम्भर प्याकुरेलले नेताहरुबाट विभिन्न मिडियामा प्रतिवद्धता आएपनि स्थानीय तहमा नेपाली कांग्रेसलाई आलोचना गरी आफु अघि बढ्ने समूह सक्रिय रहेको भन्दै यथार्थ जानकारी सहितको प्रतिवादमा उत्रनु पर्नेमा जोड दिए ।त्यसैगरी राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष शंकर शर्माले आर्थिक क्षेत्र तथा सेवामा कांग्रेसले ठोस योजना सहितको घोषणा पत्र तयार पार्नुपर्ने सुझाव दिए ।त्यसैगरी विज्ञहरुले स्थानीय तहको अधिकार, क्षमता निर्माण तथा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

कांग्रेसले मधेसलाई लक्षित गरी स्पष्ट दृष्टिकोण राख्नुपर्नेमा पनि उनीहरुले सुझाव दिए ।छलफलमा विज्ञहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अरुण तेश्रो बन्न नदिएको बारे स्थानीय स्तरमा नै भण्डारफोर कार्यक्रम संचालन गर्नुपर्नेमा पनि पार्टीको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, एक स्थानीय तह एक सुविधा सम्पन्न वृद्धाआश्रम जस्ता लोकप्रिय कार्यक्रम अघि सार्न सुझाव दिएका छन् ।महेश आचार्य संयोजकत्वको चुनाव घोषणापत्र तयारी समितिले आज पार्टी निकटका विभिन्न क्षेत्रका बुद्धिजीवी तथा विज्ञहरुसँग छलफल गरेको थियो ।